PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केपी ओली बेइमानीको अर्को नाम भएको माधव नेपालको आरोप, ‘असत्यका विरूद्ध सत्यको लडाइँ’



अनन्तराज न्यौपाने

केपी ओली बेइमानीको अर्को नाम भएको माधव नेपालको आरोप, ‘असत्यका विरूद्ध सत्यको लडाइँ’

विराटनगर : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली घोर बेइमानीको अर्को नाम भएको बताएका छन्। आफ्नो समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा गठन गरेको कमिटीको घोषणा सभामा नेता नेपाल प्रधानमन्त्रीप्रति आक्रामक भएका हुन्।

‘हिजो प्रचण्डलाई सँगै लाने र पालैपालो अध्यक्ष अनि प्रधानमन्त्री बन्ने भन्ने कागजमा सहीछाप गर्ने केपी ओली नै हुन्’, नेपालले भने, ‘आफ्नै पार्टीभित्र र पार्टीका साथीहरूलाई त ओलीले कैयौँ पटक बेइमानी गरे, प्रचण्डलाई पनि बाँकी राखेनन्। त्यसैले ओली घोर बेइमानीको अर्को उपनाम हुन्।’

उनले ओलीसितको लडाइँ भनेको सत्य र असत्य अनि न्याय र अन्याय बीचको संघर्ष भएको स्पष्ट पार्दै यही लडाइँले कम्युनिस्ट आन्दोलन र आदर्शको रक्षा गर्ने जिकिर गरे। उनले आफू जिल्लाजिल्ला र गाउँगाउँमा कमिटी गठन गर्न क्रियाशील रहेको चर्चा गर्दै पार्टीको ५० प्रतिशतभन्दा बढी शक्ति आफूसित भएको दाबी गरे।

‘२०३१ सालमा हामीले कोअर्डिनेसन केन्द्रको गठन गर्दा जम्मा ८ जना थियौँ, आज देशभर एउटा ठूलो शक्ति भएका छौँ’, नेपालले भने, ‘सही विचार र दृढ संकल्प लिनेले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।’

उनले ओलीले कम्युनिस्ट आन्दोलनको मूल बाटो र मूल विचार छाडिसकेको आरोप लगाए।

‘पार्टी विभिन्न कमिटीहरू आफूखुशी विस्तार गर्ने र नेताहरूलाई मनपरी ढङ्गले हटाउने काम भएको छ’, उनको भनाइ थियो, ‘२०७१ सालमा ओली प्रधानमन्त्री भएपछि नै पार्टीमा समस्या आएको हो। उनले पार्टीमा समस्याका बारेमा छलफल कहिल्यै चलाएनन्। नेतृत्वमा राम्रो मान्छे भए आन्दोलन अघि बढ्दो रहेछ गलत भए विभाजन ल्याउँदो रहेछ। आज त्यही भएको छ।’

उनले ओलीसित आफ्नो व्यक्तिगत लडाइँ नभएर कम्युनिस्ट पार्टीलाई क्षतविक्षत बनाउने प्रवृत्तिसितको संघर्ष भएको बताए।

‘हामी एक्लो छैनौँ, तपाईँहरू साथमा हुनुहुन्छ’, कार्यकर्तालाई ढाडस दिँदै नेपालले भने, ‘तपाईँहरू पनि एक्लै हुनुहुन्न, हामी साथमा छौँ। केपी ओलीले तपाईँहामीलाई कारबाही गरेर केही लछारपाटो लगाउँदैनन्। कुनै बेला यिनले आफू सत्ताबाट हट्नुपरेका दिन पार्टीलाई नै हटाएका थिए। यिनले बेइमानीबाहेक केही जानेका छैनन्।’

उनले थपे, ‘त्यसैले हामी कसैलाई नटेर्ने, महाधिवेशन र कमिटीका निर्णय नमान्ने, आफ्नै गुटको वरिपरि बस्नेलाई मात्र पोस्ने र असललाई पाखा लगाउनेका विरूद्ध जुधिरहेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell