PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

५ वर्षमा पनि बनेन तिलावे पुल, धुलाम्मे डाइभर्सनबाट जोखिमपूर्ण यात्रा गर्दा स्थानीयलाई सास्ती



राधेश्याम पटेल

५ वर्षमा पनि बनेन तिलावे पुल, धुलाम्मे डाइभर्सनबाट जोखिमपूर्ण यात्रा गर्दा स्थानीयलाई सास्ती

वीरगंज : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले पर्सामा शिलान्यास गरेको तिलावे पुल लामो समयसम्म पनि नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ। ५ वर्षदेखि उक्त पुलको काम भइरहेको छ। तर, सोचे अनुरुप प्रगति नहुँदा स्थानीयले पुलको बाटो भएर आवतजावत गर्दा सास्ती खेप्नु परेको हो।

पोखरीयाका स्थानीय रामएकबाल साहका अनुसार वीरगंज आउने जाने क्रममा पुल क्षेत्रको करिब एक किलोमिटरको डाइभर्सनको बाटो पार गर्दा निकै कष्ट हुने गरेको छ। अहिले गर्मीको मौसममा डाइभर्सनको बाटोमा पुलको ठेकेदारले पानी छर्किनु पर्ने भएपनि नछर्केको उनले बताए। जसको कारण खाल्डाखुल्डी र धुलाम्मे यात्रा गर्न यात्रुहरु बाध्य बनेको उनको भनाइ छ।

पुल निर्माणकर्ता ठेकेदार कम्पनी पप्पु/लुम्बिनी जेभीले उक्त काम ठेक्का लिएको हो। ७ करोडको सडक विभागको बजेटमा निर्माण हुने पुलको कार्य सोचे अनुरुप गतिमा अघि बढेको छैन। डाइभर्सनमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको र अत्यधिक धुलो उड्दा साइकल, मोटरसाइकल र अन्य सवारी सधानको दुर्घटना हुने जोखिम पनि बढेको छ।

यस विषयमा ठेकेदार कम्पनीका प्रतिनिधि सुमित रौनियारले आगामी असारसम्म पुलको काम सम्पन्न हुने अन्तिम म्याद रहेकोले सो अवधिसम्म पुलको काम पूरा गर्ने आश्वासन दिए। डाइभर्सन निर्माणको लागि २६ लाख रुपैयाँ सडक विभागसँग माग गरिएकोमा विभागले बजेट दिन रोक लगाएकोले डाईभर्सनको काम राम्रोसँग गर्न नसकेको र त्यसै कारण अहिलेको समस्या उब्जेको उनको भनाइ छ।

उनले पुलको स्पानको काम पूरा भई करिब ८० प्रतिशत काम सकिएको दावी गरे। सो डाइभर्सनमा तिलावे खोलाको पानी बगाउन राखिएको दुई वटा ह्यूम पाइप पनि भारी मालबाहक सवारी साधन गुड्दा भाँचिएको र जुन बेला पनि पाइप फुटेर बाटो अवरुद्ध हुने अवस्था सिर्जना हुँदै गएको पनि यात्रुहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell