PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अध्यक्ष प्रचण्डले सुनाए बुढानीलकण्ठ बैठकको साझा निष्कर्षः सरकारले राज्यका सबै अङ्गहरूलाई सन्त्रास र कब्जामा राख्ने कोसिस गर्‍यो



पहिलोपोस्ट

अध्यक्ष प्रचण्डले सुनाए बुढानीलकण्ठ बैठकको साझा निष्कर्षः सरकारले राज्यका सबै अङ्गहरूलाई सन्त्रास र कब्जामा राख्ने कोसिस गर्‍यो

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानुनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रवार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरूलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको समेत बताए।

शुक्रवार दिउँसो बुढानीलकण्ठस्थित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा तीन दलको बैठक बसेको थियो। नयाँ सरकार गठनमा केन्द्रित रहेको उक्त बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी थिए।

यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरूको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको पनि बताए।

अध्यक्ष दाहालले भने ‘हिजो मात्रै हामी संसद् भित्र भएका तीन वटा प्रमुख दलहरूको बैठक बस्दै थियौँ। सरकारको बारेमा कुरा गर्न तपाईँहरूलाई थाहा छ। त्यहाँ सबैको एउटा कुरामा सहमति देखा पर्‍यो। अहिलेको सरकारले कर्मचारी तन्त्रलाई आतङ्कमा बाच्न बाध्य पार्न थालेको छ। राज्यका सबै अङ्गहरूमाथि जबरजस्ती कब्जा जमाउने षडयन्त्र सुरु भएको छ भन्ने कुरामा सबैको सहमति देखियो त्यहाँ। त्यो आफैमा एउटा ठुलो विडम्बनाको स्थिति हो।’

सरकारले कानुन अनुसार हुनै नसक्ने र हुनै नहुने कामहरू गरिरहेको पनि अध्यक्ष दाहालले आरोप लगाए । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइराखेकोले देशमा निकै ठुलो अन्योल र सन्त्रास उब्जिएको पनि बताए ।

अध्यक्ष दाहालले भने ‘अहिले हामी हेर्‍यो भने दिन दिनै जस्तो के संविधान, के ऐन कानुन, नियम सबैलाई मिच्दै जबरजस्ती राज्य सत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ अहिले। हुनै नसक्ने र हुनै नहुने कुराहरू भइराखेका छन्। जे आधिकारिक हो, जे वैधानिक हो, जे संवैधानिक हो, जे विधिसम्मत हो त्यसलाई गलहत्त्याइएको छ, त्यसलाई निमोठिएको छ।’

अध्यक्ष प्रचण्डले सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताए । तर विद्रोहमा जानु अगाडी नयाँ सरकार गठन गरेर सोही सरकार मार्फत अहिले भइराखेका ज्यादतीहरूलाई सच्याउन चाहेको पनि प्रस्ट पारे।

अध्यक्ष दाहालले ‘हामी त्यो परिस्थिति आउनु भन्दा अगाडि नै नयाँ सरकार गठन गरेर त्यो सरकार मार्फत यो बिचमा भएका ज्यादतीहरूलाई सच्याउन चाहन्छौँ।’

अध्यक्ष प्रचण्डले यो सरकार अब धेरै दिन नचल्ने र नयाँ सरकार बनेपछि कर्मचारीका मागहरूको सम्बन्धमा साथ समर्थन र सहयोग रहने पनि दावी गरेका थिए।

( समाचार न्युज एजेन्सी नेपालबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell