PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बिस्कामा रमेको भक्तपुरको दृश्य

बिस्कामा रमेको भक्तपुरको दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु भएको छ। दिउँसो टौमढीमा भैरवनाथलाई भैल: ख: (भैरवनाथको रथ) मा विराजमान गराएपछि रथयात्रा सुरु भएको हो।

कोभिड १९ संक्रमणका कारण गत वर्ष बिस्का जात्रा रोकिएको थियो। अहिले पनि भारतमा संक्रमण बढेको र नेपाल पनि जोखिममा रहेको भन्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्कामा रथ र य: सिं नठड्याउने निर्णय गरेको थियो। तर सबै क्षेत्र खुल्ला गरेर संक्रमण फैलिनबाट रोक्नु भन्दा जात्रा पर्वमाथि नै प्रशासनले प्रहार गरेको भन्दै स्थानीयले विरोध गरेपछि बिस्कामा भैरवनाथको रथ जात्रा हुने तय भएको थियो।

पहिला साँझमात्रै रथ यात्रा गरिने भएपनि यसपटक भने दिउँसै रथयात्रा गरिएको हो। यसपटक बिस्काको तालिका केही परिवर्तन समेत गरिएको छ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लान सके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यसवर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।

'भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ। त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ। तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ', उनी भन्छन्, 'यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो। पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो। त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो। नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ।'

प्रा डा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गरे। उनले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किम्बदन्ती भ्रम मात्र रहेको बताए।

'यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो। विश्व भैरवनाथको प्रतिक लिंगोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो। यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ।'

 



ट्रेन्डिङ पोस्ट

Ncell