PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

माधव नेपालको वचन, 'समानान्तर कमिटीका नेतालाई निर्वाचनमा टिकट पक्का'



राधेश्याम पटेल

माधव नेपालको वचन, 'समानान्तर कमिटीका नेतालाई निर्वाचनमा टिकट पक्का'

वीरगंज : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटीका नेता कार्यकर्तालाई अगामी निर्वाचनमा टिकट दिने वचन दिएका छन्। प्रेस संगठन पर्साले आइतवार वीरगंजको होटल भिस्वमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यस्तो वचन दिएका हुन्।

पार्टीभित्रको विवाद यदि निर्वाचन आयोगले अगामी निर्वाचनसम्म नटुंग्याए पनि नेता कार्यकर्ताहरुलाई निराश नहुन नेपालले अपिल गरे। 'तपाईहरु कारवाहीमा पर्नु भएको छ, यस्तो विवाद रहयो भने अर्को पार्टी खोल्ने सम्भावना कतिको छ?’ सञ्चारकर्मीहरुको जिज्ञासामा उनको जवाफ थियो, ‘अहिले नेकपा एमाले हामी सबै नेताहरुको पार्टी हो, प्रधानमन्त्री ओलीजीले विधि र पार्टीको विधानलाई मिचेर कारबाही गर्नू भएको छ, त्यो असंवैधानिक र गलत छ, त्यस बारेमा निर्वाचनमा आयोगमा चिठी दिएका छौं।’

नयाँ सरकार गठनबारेको प्रश्नमा उनले यो विपक्षी पार्टीको अधिकारको कुरा भएको बताए। 'जसपाको निर्णय गर्ने कुरा महन्थजी र उपेन्द्र जीसँग सोध्नु होला, यस बारेमा मैले बोल्नु उपयुक्त हुदैन,' नेपालले भने।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँतिएको विषयमा वरिष्ठ नेता नेपालले सर्वोच्चको निर्णय बिहेसँग तुलना गरे। ‘केटाकेटीले प्रेम गरेर आपसी सहमतिमा बिहे गर्छन्, एक वर्षपछि छोरो जन्मेपछि त्यसलाई सर्वोच्चले फेरी बच्चालाई गर्भमा पठाउन खोजेको छ, त्यो अस्वभाविक निर्णय हो,’ उनको दाबी थियो।

उनले निर्वाचन अयाोगलेसमेत यस विषयमा कुनै निर्णय गर्न नसकेको बताए। अध्यक्ष ओलीले फागुन २८ गते गरेको केन्द्रीय कमिटीको निर्णय गलत भएको भन्दै जानकारीसहितको पत्र पठाउँदा पनि निर्णय नहुनु राज्यको लागि विडम्बना भएको उनको गुनासो थियो। ‘पार्टीको कामकारवाहीको विषयमा कुन निर्णय ठीक छ, कुन बेठीक छ भन्ने बारेमा निर्णय गर्न निर्वाचन अयाोग छ, तर अहिलेसम्म कुनै निर्णय आएको छैन, के भन्ने कहाँ गएर उजुरी गर्ने, कहाँ विरोध गर्ने?’ नेपालले प्रश्न गरे। पार्टीलाई ओलीले पेवा सम्झेको आरोप लगाउँदै उनले कूर्सीको लोभमा पार्टीलाई अनिर्णयको बन्धक बनाएर ओलीले पार्टीमा एकलौटी तन्त्र, मनपरीतन्त्र र अधिनायकवाद लाद्दै गएको बताए। 'त्यसैको फल हो की पार्टी अहिले संकटमा पुगेको छ, कार्यकर्ताहरुमा निराशा छाएको छ, त्यसै निराशालाई आत्मसात गर्दै नेकपा एमालेले पार्टी सुदृढिकरण अभियान चलाएको छ, हरेक वडा, पालिका, जिल्ला, प्रदेशमा समानान्तर कमिटि गठन गरेर कसरी यस्तो अवस्था आयो भन्ने बारेमा राज्यव्यापी रुपमा अघि बढेका छौं,' नेपालले भने।

प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोठेको अध्यक्षता र मनोज पटेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका महासचिव एवं पूर्वमन्त्री घनश्याम भूसाल, केन्द्रीय सदस्य रामचन्द साह तेली, पूर्व सभासद विचारी यादव, नागेन्द्र चौधरीलगायतको सहभागिता थियो। पर्सामा हिजो नेकपा एमाले माधव समूहले बालगोपाल थापाको संयोकत्वमा १७५ सदस्यीय समानान्तर कमिटी पनि गठन गरेको छ। ओली समूहको नेकपा एमालेको पर्सा अध्यक्षमा प्रभु हजरा रहेका छन्। हिजै होटल भिस्वामा माधव समूहको जिल्ला स्तरीय कार्यकर्ता भेलामा नेता नेपाल र भूसालले प्रशिक्षण दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell