PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'नेपालका नरेश'का रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहको हरिद्वार यात्रा : कति तीर्थ कति राजनीति?



कमलराज भट्ट

'नेपालका नरेश'का रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहको हरिद्वार यात्रा : कति तीर्थ कति राजनीति?
आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरिसँग पूर्वराजा शाह । तस्विर : jagran

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह गत बिहीवार भारत प्रस्थान गरे। पूर्व राजपरिवार सहितको टोली उत्तराखण्ड राज्य अन्तर्गत हिन्दुहरुको प्रमुख धार्मिक स्थल हरिद्वारमा आयोजना हुने महाकुम्भमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको हो।

हिन्दुहरुको पवित्र धार्मिक स्थल हरिद्वारमा महाकुम्भका अवसरमा चैत ३० गते पूर्वराजा शाहले हिन्दू सम्राटको हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका रहेको छ। पूर्वराजा शाहका सञ्चार विज्ञ फणी पाठकले विज्ञप्ती जारी गरेर महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा शाही स्नानमा सहभागी हुन लागेको जानकारी दिएका छन्।  

के हो शाही स्नान?

हरेक १२ वर्षको अन्तरमा हुने गर्छ महाकुम्भ मेला। महाकुम्भको मार्च ११ मा पहिलो शाही स्नान भइसकेको छ। सबैभन्दा पहिला साधु-सन्तले गंगामा डुबुल्की लगाएर शाही स्नानको सुरुवात गरिसकेका छन्। दोस्रोपटकको शाही स्नान अप्रिल १२ अर्थात ३० चैतमा परेको छ। यहीँ दिन पूर्वराजा शाहले गंगामा स्नान गर्नेछन्। यस दिन अमावस्या र सोमवती अमावस्याको विशेष मुर्हत परेको छ। ज्ञानेन्द्रलाई महाराजाको मान र दरबार, नेपाली झण्डासहितको रथबाट शाही जुलुससहित सम्मानपूर्वक शाही स्नान गराउने कार्यतालिका रहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो पहिलो मौका हो कि कुनै देशको राजाले सन्तहरु सँगै कुम्भ मेलामा शाही स्नान गर्दैछन्। कुम्भ पर्वका अवसरमा हरिद्वार पुगेका ज्ञानेन्द्रले यसलाई आफ्नो सौभाग्य भनेका छन्।

हरिद्वारमा पूर्वराजा शाहलाई उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले नेपालका राजाको हैसियतमा विशेष स्वागत गरेका छन्। त्यसै अनुसार शाही टोलीको सुरक्षा प्रबन्ध मिलाइएको छ। मुख्यमन्त्री रावतले आफ्नो सरकार कुम्भ मेलालाई सुरक्षित सञ्चालन गर्न दृढ संकल्पित रहेको बताएका छन्। 

शाही स्नानलाई राजयोगी स्नान पनि भनिन्छ। धार्मिक कथा अनुसार देवताहरु र राक्षसहरुद्वारा समुद्र मन्थनपछि अमृत कलश भेटियो। जसलाई पाउन दुवै पक्ष बिच लडाई भयो। गरूड अमृत कलश लिएर आकाशमा उड्दा बिचमा हरिद्वार, इलाहाबाद, नासिक र उज्जैन गरेर ४ स्थानमा अमृत खस्यो। यसकारण भनिन्छ कि कुम्भ मेलाका क्रममा शाही स्नान गर्दा अमरत्व प्राप्त हुन्छ

हरिद्वारका वरिष्ठ स्वामी कैलाशानन्द गिरीले पत्र पठाएर पूर्वराजा शाहलाई महाकुम्भमा सहभागी भई माता गंगामा स्नान गरी भारतवर्षका उत्कृष्ट ऋषि मनीषिसँग आशीर्वाद ग्रहण गरी आफ्नो मुलुकको कुशलताका लागि आशिष प्राप्त गर्न अनुरोध गरेका थिए।

शाही स्नान कार्यक्रममा स्वामी कैलाशानन्द गिरी, उत्तरखण्डका मुख्यमन्त्री रावत, केदारनाथका पिठाधीश लागायत साधु सन्त उपस्थित हुनेछन्। कुम्भ मेलामा सहभागी हुन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवत पनि हरिद्वार आएका छन्।

हरिद्वार पुगेका शाहले दक्षिणकाली मन्दिर पहुँचमाईको दर्शन गरेका छन् भने निरञ्जनी अखाडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराजबाट आशीर्वाद लिएका छन्।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार शाही स्नान विशेष मुर्हतमा गर्ने स्नान हो। राजा, महाराजा, ठूला ठूला शंकराचार्यहरुले मुर्हत हेरेर स्नान गर्ने परम्परा छ।

भण्डारीले हरेक पटकको भ्रमणमा भारतले ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा व्यवहार गरेको र सम्मान दिएको स्मरण गराइन्। अहिले पनि राजाकै हैसियतमा सम्मान गर्न लागेको बताउँदै उनले राजनीतिक रुपमा व्यवस्था परिवर्तन भए पनि हिन्दु परम्पराअनुसार हिन्दु राजालाई गर्ने सम्मान भएको बताइन्। ‘नेपालमा राजा नभएको अवस्थामा पनि हाम्रो हिन्दु परम्पराअनुसार सम्मान गरिँदै आएको छ,’ उनले भनिन्।

भण्डारी सन् २०१८ फेब्रअरीमा पूर्वराजा शाहको उडिसास्थित पुरी भ्रमणमा सँगै गएकी थिइन्। त्यहाँका शंकराचार्यले ज्ञानेन्द्रलाई राजाकै हैसियतमा आमन्त्रण गरेको र राजकीय भ्रमण गराएको भन्दै भण्डारीले राज्यको मुख्यमन्त्री नै स्वागतमा आएको स्मरण गरिन्

त्यसअगाडि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने शुभेच्छा राख्‍ने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनवरीमा लखनउमा ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा आमन्त्रण गरेर ‘नेपालका नरेश’ भनेर सम्मान गरेका थिए

राजनीतिक अर्थ

नेपालमा जबजब राजनीति तरल अवस्थातिर पुग्छ, तबतब औला राजातिर तेर्सिन थाल्छ। निर्वाचित सरकारले गुमाउँदै गएको जनमत, कमजोर धरातलमा उभिएको प्रतिपक्षी दल र अहिलेको राजनीतिक खिचातानीले धार्मिक यात्रामै गएको भए पनि राजाको तीर्थयात्रालाई राजनीतिक कोणबाट हेर्ने कम छैनन्। भारतको संस्थापन पक्ष हिन्दुत्वको अभियानमा सक्रिय छ जसले नेपालको 'नरेश'लाई 'विष्णुको अवतार'का रुपमा व्याख्या गर्दै आएको छ। त्यसैले पनि पूर्व राजाको भारत यात्रालाई राजनीतिक दृष्टिकोणबाट पनि हेरिन्छ।

विश्व हिन्दु महासंघकी महासचिव भण्डारी एकदमै विशिष्ट धार्मिक भ्रमणमात्र रहेको दावी गर्छिन्।

केन्द्रमा नेतृत्व गरिरहेको भारतीय जनता पार्टी हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)सँग सम्बन्धित सरकार हो। त्यसकारण एउटा हिन्दु सेन्टिमेन्ट बोकेको पार्टीले संसारभर हिन्दुत्वका लागि काम गर्नु, अगाडि बढाउनु उसको सिद्धान्त नै हो। हिन्दुवादी दलले राजाप्रति सहानुभूति राखे पनि यसलाई उनी गैर राजनीतिक भ्रमण भन्छिन्।

भारत मामिलाका जानकारहरुका अनुसार धार्मिक भ्रमणमा निस्किएका शाहको राजनीतिक भेटघाट हुनसक्छ। नेपालमा राजसंस्थाका पक्षमा आवाजहरु बढ्दै गएको, दलहरुप्रति वितृष्णा बढ्दै गएको बेला भारतको सदासयता महत्वपूर्ण हुनसक्छ।  

हरिद्वारमा शाहको भारतका महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारी, केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह, यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ, बिजेपी महासचिव राम माधव लगायतसँग शिष्टाचार भेट हुने बताइएको छ। मुख्यमन्त्री योगीसहित बिजेपीका नेताहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्ने धारणा राख्दै आएका छन्।

हिन्दुवादी नेता योगीको राज्य उत्तर प्रदेशमा २०२२ मा विधानसभा चुनाव हुँदैछ। नेपालमा हुने हिन्दुवादी गतिविधि र राजसंस्थाको आवाजले योगीको एजेण्डालाई पनि बल मिल्छ। उताको चुनाव अगावै नै नेपाल हिन्दु राष्ट्र भए आफूलाई पनि नैतिक बल प्राप्त हुने योगीको बुझाइ रहेको उनी निकट जानकार बताउँछन्। त्यसो त बिजेपी विस्तारै विस्तारै भारतलाई हिन्दुहरुको वर्चश्व रहेको दुनियाँकै ठूलो राष्ट्र बनाउन अग्रसर छ। यस्तो बेला भाजपाका शीर्ष नेताहरु र पूर्व राजाको एकै समयमा भएको हरिद्वार यात्रालाई अर्थपूर्णमा हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell