PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

नागार्जुनको जंगलमा लागेको आगो निभाउने प्रयास, तीनवटा हेलिकप्टरबाट पानी झार्दै



पहिलोपोस्ट

नागार्जुनको जंगलमा लागेको आगो निभाउने प्रयास, तीनवटा हेलिकप्टरबाट पानी झार्दै
फोटोः प्रकृति पहारी

काठमाडौं : काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ। सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको बूढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिए।

'तीन वटा हेलिकप्टरले पानी हाल्दै छन्। नियन्त्रणको प्रयास जारी छ,' नगर प्रमुख खरेलले भने।

जङ्गलमा आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकलको प्रयासमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ।

'सबै सुरक्षा निकायको टोली परिचालन भइसकेको छ। आगो नियन्त्रण गर्ने कोसिस गरिरहेका छौँ,' महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले भने।

पछिल्लो समय देशभर विभिन्न ठाउँमा आगलागी हुने क्रम बढेको छ। शनिवार मात्र भक्तपुरस्थित नगरकोटको जङ्गलमा लागेको डढेलो राति अबेर नियन्त्रणमा आएको थियो। साँझ करिब सवा पाँच बजेतिर सल्केको आगो नियन्त्रणका लागि तीन वटा दमकल प्रयोग गरिएको थियो।

त्यस्तै काठमाडौंको चोभारको आदिनाथ मन्दिर रहेको जङ्गल क्षेत्रमा पनि आगोलागि भएको थियो। स्थानीय, प्रहरी र सेनाले मिलेर डढेलो नियन्त्रण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell