PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भीम रावलको प्रश्न : ‘केपी ओलीजी बालुवाटारमा ब्युझै हुनुहुन्छ कि सुतिरहनुभएको थियो?’



पहिलोपोस्ट

भीम रावलको प्रश्न : ‘केपी ओलीजी बालुवाटारमा ब्युझै हुनुहुन्छ कि सुतिरहनुभएको थियो?’

कैलाली : नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश कमिटी संयोजक डा भीम रावलले पद खाइदिन्छु भनेर जनप्रतिनिधिलाई पार्टी अध्यक्षले धम्क्याएको आरोप लगाएका छन्।

धनगढीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा रावलले राज्यसत्ताको दुरुपयोग गरेर धम्की दिनु निन्दनीय भएको बताए। ‘प्रधानमन्त्रीले विघटन नगरेको भए एमालेमा सम्भव त यति ठूलो विवाद आउने थिएन,’ उनले भने, ‘प्रधानमन्त्री बालुवाटारमा बसेर गुट निर्माण गर्न, मान्छेहरु धम्क्याउन र कतिपय विभिन्न पदमा रहेका मान्छेलाई तर्साउन उहाँले विभिन्न क्रियाकलाप गरिरहेको मैले सुनेको छु। त्यो निन्दनीय हो। लोकतन्त्रमा त्यो अस्वीकार्य छ।’

पद खाइदिन्छु, गुटमा आउ भनेर धम्क्याउँदैमा डराउनपर्ने अवस्था नभएको उनले बताए। ‘प्रदेश र संघीय सांसद दुईटा अवस्था एमाले छाडेर अरु दलमा गएमा वा राष्ट्रिय महत्वका विषयमा मतदान गर्ने विषयमा ह्वीप उल्लंघन गरेको अवस्थामा मात्रै कारवाही हुन्छ,’ उनले भने, ‘हामी एमालेमै छौं। जति पनि निर्वाचित जनप्रतिनिधि एमालेमै छ। आफ्नो काम गरिरहेका छन्। नियम धाक धम्की दिएर आफ्नो गुटमा तान्न प्रयास गर्नु गलत छ। राज्यसत्ताको दुरुपयोग हो।’

रावलले केपी ओलीले महाधिवेशन कमिटी बनाउनु अवैध भएको उल्लेख गरे। ‘अवैध महाधिवेशन कमिटी बनाउने ओलीजी अवैध अध्यक्ष हो। उहाँले गरेको अवैध कारवाही पनि सबैका लागि अस्वीकार्य छ,’ उनले भने, ‘मलाई निलम्बन गर्ने उहाँ आफै अवैध, निर्णय अवैध छ। विधान धारा दफा र प्रस्तावनासँग मेल खाँदैन। चिन्तित नहुन पार्टीपंक्तिलाई आह्वान गर्छु।’

ब्युझै हुनुहुन्छ?

रावलले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा सुतेर बसेको आरोप लगाए। विगतमा विखण्डनवादी अभियन्ता सीके राउतसँग ११ बुँदे सहमति गर्दा त्‍यसका केही धारा दुई देशका बिचमा भएजस्तो भएको टिप्पणी गरेको स्मरण गर्दै रावलले भने, ‘सीके राउतले स्वतन्त्र मधेसको नारा छोडेको भनेर ओलीजीले गजब गरेको भनेका थिए। भर्खरै सीके राउतले गरेको अधिवेशनमा स्वतन्त्र मधेस भनेर ब्यानर किन टाँसियो? झण्डा किन बोकियो? नारा किन लागियो?’

प्रधानमन्त्री ओली सुतेकाले सहमति विपरित स्वतन्त्र मधेसको नारा लागेको उनको आरोप थियो। ‘केपी ओलीजी बालुवाटारमा ब्युझै हुनुहुन्थ्यो कि सुतिरहनुभएको थियो। यो प्रश्न ओलीजीले सुन्न सक्नेगरी पुर्‍याइदिनुहोला,’ उनले भने।

रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिलाई बाँडेको तक्सामा नेपालको नयाँ नक्सा उल्लेख नगरिएको भन्दै असन्तुष्ट पनि जनाए। ‘तक्मा भनेको राष्ट्रको स्वाभिमान र प्रतिष्ठाको प्रतिक हो। तक्माभित्र अंकित जुन नेपालको नक्सा छ त्यो नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि समेटिएको नक्सा नहुनु आपत्तिजनक छ। यसमा गृहमन्त्रालयको पुरानो तक्मा हो भनेर प्रष्टिकरण दिनु गैरजिम्मेवारीपनको पराकाष्ठा हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell