PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'पिङ-पङ डिप्लोमेसीको ५० वर्ष': टेबल टेनिसले जोडेको चीन-अमेरिका सम्बन्ध



पहिलोपोस्ट

'पिङ-पङ डिप्लोमेसीको ५० वर्ष': टेबल टेनिसले जोडेको चीन-अमेरिका सम्बन्ध

चीनले अमेरिकी टेबल टेनिस टिमलाई ऐतिहासिक भ्रमणमा निम्तो दिएको आधा शताब्दी बितिसकेको छ। तर, उक्त क्षण अहिले पनि स्मरण भइरहन्छ 'पिङ-पङ डिप्लोमेसी'को रूपमा। अझै परिवर्तित विश्वमा यसको गहिरो प्रभाव रहँदै आएको छ।

शनिबार साङ्घाइमा विशेष विशेष कार्यक्रमको आयोजना भयो- 'पिङ पङ डिप्लोमेसी'को ५०औँ वर्षगाँठ मनाउने क्रममा। 'चीन-अमेरिका सम्बन्ध इतिहासमा ५० वर्ष अगाडिको पिङपङ डिप्लोमेसीको विशेष महत्त्व छ,' अमेरिकाका लागि चीनका राजदूत चुइ तिनकाइले भिडियो सम्बोधनमा भनेका छन्। चिनियाँ जनताले एउटा उक्ति पर्याय प्रयोग गरिरहन्छन्- 'सानो बलले ठूलो बललाई हल्लाउँछ'। यो उक्तिले ५० वर्ष अगाडिको इतिहासलाई झल्काउँछ जहाँ टेबल टेनिस दुई देशबीचको कूटनीतिक सम्बन्धको सेतु बनेको थियो।

५० वर्ष पछि पनि त्यही सानो बल कैयौँ देशहरूको सम्बन्धका लागि चलिरहेको छ।

एउटा इतिहास रहेको त्यो क्षण

विश्व विजेता चुआङ जेदोङ र अमेरिकी प्याडलर ग्लेन काउनबीच अप्रिल १९७१ मा भएको त्यो प्रतिस्पर्धा धेरै सुनिएको र अहिलेसम्म दोहोरिएर सुनिने कथा हो।

३१औँ वर्ल्ड च्याम्पियनसिप नागोया जापानमा तालिमका दौरान काउनले आफूलाई चिनियाँ टोलीका सदस्यसँग एउटै बसमा फेला परे। त्यति बेला चीन र अमेरिकाबीच शीतयुद्धको अवस्था थियो गल्फ (खाडी राष्ट्र) लाई लिएर। सहकर्मीहरूलाई छाडेर चुआङ काउनसँग भेटका लागि आफू बसेको स्थानबाट उठे। विश्व विजेता चुआङले काउनसँग कुराकानी गरेर र उनलाई उपहारस्वरूप चित्र यवनिका (चित्र कुदिएको चम्किलो कपडा) दिए।

यी दुईबीच बसमा हात मिलाएको दृश्य पत्रकारहरूले कैद गरेका थिए। साथै यी तस्बिरहरूले स्थानीय पत्रिकाहरूमा हेडलाइनका रूपमा स्थापित भए।

'उनले (चुआङ) अर्थपूर्ण काम गरेका थिए सही तरिकाले सही समयमा,' अन्तर्राष्ट्रिय टेबल टेनिस फेडेरेशनका मानार्थ अध्यक्ष सु यिनसङ्ले भने। सुले पछि चिनियाँ टोलीको समेत प्रशिक्षण समालेका थिए।

चिनियाँ प्रतिनिधि टोलीको निमन्त्रणमा अमेरिकी टेबल टेनिस टिमलाई लिएर आएको विमान बेइजिङको विमानस्थलमा १० अप्रिल १९७१ मा अवतरण गरेको थियो। यो टोली नै सन् १९४९ मा जनगणतन्त्र चीन स्थापनापछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी टोली थियो। अमेरिकी टोलीले चिनियाँ समकक्षीसँग बेइजिङ र साङ्घाइमा प्रदर्शनी खेल खेले।

विश्व च्याम्पियनसिपका पूर्व प्रमुख अम्पायर तथा साङ्घाइ जियाओ थङ विश्वविद्यालयका प्राध्यापक सुन छिलिङसँग अझै पनि त्यो खेलको छाप स्पष्ट छ जुन खेल साङ्घाइको याङपु जिल्लाको जियाङवान जिम्न्याजियममा भएको थियो।

'त्यस खेलमा हावा जीवन्त थियो। पिङ-पङ डिप्लोमेसीले सबै चिनियाँ नागरिकलाई उत्प्रेरणा प्रदान गर्नुका साथै चीन र अमेरिकालाई नजिक ल्याउन ठूलो भूमिका खेल्यो। टेबल टेनिसकै माध्यमबाट मित्रवत् सम्बन्ध र आदानप्रदानका लागि ढोका खुलेको हो, '७१ वर्षीय सनले भने। उनले चिनियाँ टोलीलाई विभिन्न विश्व विश्वविद्यालय खेलकुद र च्याम्पियनसिपमा कोचको रूपमा नेतृत्व गरिसकेका छन्।

त्यसको अर्को वर्ष चिनियाँ टोलीले अमेरिकाको भ्रमण गर्‍यो। यो आपसी भ्रमणले चीन-अमेरिकाबीच रहेको दुई दशक लामो संवादहीनतामा आइसब्रेकको काम गर्‍यो। र यही भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सामान्यीकरण तर्फ डोहोर्‍यायो।

परिवर्तित विश्वमा परिवर्तन नभएको त्यो इतिहास

'चिनियाँ टेबल टेनिस विश्वसँग साझा गरिएको छ,'  सन- २०२० मा वर्ल्ड टेबल टेनिसको काउन्सिल चेयरमा मनोनीत भएपछि लिजेन्ड लिउ क्वुओलियाङले भनेका थिए। सन् १९८८ यता चीनले ३० मध्ये २८ गोल्ड मेडलसहित टेवलटेनिसमा आधिपत्य जमाइरहेको छ।

टेबल टेनिसले चीन र अमेरिकालाई जोडिरहेको छ। यो एउटा स्मरणात्मक गतिविधि मात्र होइन, तर कोर्टमा प्रविधिको हस्तान्तरण पनि हो।

सन २०१९ को बुडापेस्ट वर्ल्ड च्याम्पियनसिपमा ग्राण्डस्लाम विजेता मा लोङ र तिङ निङसहितका चार चिनियाँ खेलाडीले अमेरिकी प्रतिस्पर्धीसँग संयुक्त अभ्यास गरेका थिए।

अहिले पिङ पङ डिप्लोमेसी फराकिलो दायरामा प्रस्तुत भएको छ। विश्व टेबल टेनिसमा आफ्नो प्रभुत्वसँग चीन सन्तुष्ट मात्र छैन कि उसले विभिन्न देशसँग गहिरो साझेदारीका गर्दै खेललाई प्रख्यात बनाउन लागि पनि परिरहेको छ।

सन् २०१८ को नोभेम्बरमा पपुवा न्यु गिनी (पीएनजी) मा एउटा तालिम केन्द्रको स्थापना भयो- चाइना टेबल टेनिस कलेज। जहाँ विश्व विजेता सी चिहाओ र ग्रान्ड स्लम विजेता झाङ यिनिङले स्थानीय खेलाडीलाई तालिम दिएका थिए। चिनियाँ टेबल टेनिस कलेजमा तालिम लिएपछि पीएनजीको टेबल टेनिस टिमले प्यासिफिक गेम्समा दुई कास्य पदक उचाल्दै इतिहासकै राम्रो प्रदर्शन गर्‍यो।

'मलाई टेबल टेनिसले एउटा खेलाडीको रूपमा मात्र उभ्याएको गर्वित बनाएको मात्र छैन कि टेबल टेनिसले चिनियाँ कूटनीतिमा र अन्य देशसँगको जनसम्बन्धमा महत्त्वपूर्ण योगदान पनि पुर्‍याएको छ,' आईटीटीएफका वर्तमान उपाध्यक्ष सीले भने।

२०१५ को विश्व च्याम्पियनसिपको मिक्स डबलको टाइटल उचाल्नका लागि सु सिनले दक्षिण कोरियाका याङ हाइ अनसँग मिलेर खेलेका थिए। कोर्ट बाहिर, चिनियाँ खेल सामाग्री उत्पादक डबल ह्यापिनेस (डीएचएस) ६ ओलम्पिक र १८ विश्व च्याम्पियनसिपमा सामाग्री वितरण गर्ने कम्पनी बनेको छ। ६२ वर्ष अगाडि जनवादी गणतन्त्र चीनको स्थापनापछि यो कम्पनीले टेबल-टेनिस सामाग्रीको नेतृत्वदायी उत्पादकको रूपमा मात्र होइन देशको पिङ-पङ डिप्लोमेसिमा पनि योगदान पुर्‍याइरहेको छ। 'म गौरवान्वित छु कि हामीले पिङ-पङ डप्लोमेसिमा जे गरिरहेका छौँ,' डीएचएसका महाप्रबन्धक लोउ सिहले भने।

अघि बढिरहेको पिङ-पङ डिप्लोमेसी

विश्व आधा शताब्दीको अवस्थाभन्दा फरक भइसकेको छ। विशेषगरी कोभिड-१९ पाण्डेमिकले विभिन्न देश क्षेत्रसँग परामर्श र सहकार्यको आवश्यकतालाई  देखाएको छ। विश्वब्यापी चुनौतीको रूपमा रहेको अहिलेको अवस्थासँग जुध्नका लागि खेलले महत्त्वपूर्ण योगदान गर्न सक्छ।

'आज चीन-अमेरिका सम्बन्ध चुनौतीपूर्ण अवस्थामा रहेको छ। दुबै पक्ष आपसी सम्मानलाई अगाडि बढाउँदै र विमतिहरूलाई साझा थलोको रूपमा पहिचान गर्दै पिङ-पङ डिप्लोमेसीको मनोभावलाई आत्मसाथ गर्दै अगाडि बढ्न पर्छ,' चुइले भने, 'अहिले महामारी र शताब्दी यताकै सुषुप्त परिवर्तन एकापसमा जोडिएका छन्। र पारम्परिक र गैरपरम्पारिक सुरक्षा चुनौती एक पछि अर्को गर्दै उभिइरहेका छन्। विश्वका अनेक चुनौतीहरूको अगाडि चीन र अमेरिकाले साझेदारी गर्न सक्छन् र गर्न पर्छ। र यो मौलिक ऊर्जाले ठूलो बललाई अगाडि बढाउन सक्छ र यो कमजोर होइन कि थप बलियो रूपमा अगाडि बढ्ने छ।'

एउटा पुस्तादेखि अर्को पुस्तासम्मको मित्रता नै चिनियाँ र अमेरिकी जनताको  साझा चाहना हो भएको टेबल टेनिस लिजेन्ड झाङ सियलिन बताउँछन्। 

पिङ-पङ डिप्लोमेसीको निरन्तरताको रूपमा आयोजना भएको यो खेलले मानिसहरूलाई इतिहास र जनसम्बन्ध र मित्रतालाई स्मरण गर्न मद्दत पुग्ने झाङ विश्वास गर्छन्।

अमेरिकी पूर्व टेबल टेनिस अध्यक्ष सेरी सिओरोस्लानले आफूले पिङ-पङ डिप्लोमेसीको बारेमा युवावस्थामा सिकेको कुरा र त्यसको लिगेसीलाई आफ्नो कालमा अगाडि बढाएको कुरा भिडियो सम्बोधनमा भनिन्। 'हामीसँग धेरै सम्झना छन् र अज धेरै काम गर्न बाँकी छ,' उनले भनेकी छन्।

चीनको साइना फरेन अफेयर युनिभर्सिटीको स्पोर्ट एक्सचेन्ज रिसर्च सेन्टरका निर्देशक चोउ छिङजेइले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनाका लागि खेलको आदानप्रदान महत्त्वपूर्ण साधनको रूपमा रहेको बताउँछन्।

'२०२० लगत्तै महामारीले विश्वलाई तहसनहस पारेको छ। विभिन्न देश तथा त्यहाँका जनताले आपसी आदानप्रदान र साझेदारीको आवाज उठाइरहेका छन्। शान्ति तथा विकास र विनविन साझेदारीका आवश्यक छ। र खेलकुदले यो उद्देश्य पूरा गर्न अद्वितीय भूमिका खेल्छ,' उनले भने।

शनिबार उद्घाटन खेलमा चार वटा चिनियाँ र अमेरिकी टेबल टेनिस प्रेमी मिसिएका चार टिमबीचको खेल भयो। न्यूयोर्क युनिभर्सिटी साङ्घाइका भाइस चान्सलर जेफ्री लेह्मान खेलमा सहभागी भए। उनले खेल खेलेपछि १९७२ को प्रदर्शनात्मक खेल हेरेको स्मरण गरे। जति बेला उनी हाइ स्कुलका विद्यार्थी थिए।

'निश्चय नै यो परिवर्तित बिन्दु हो। यो एउटा महत्त्वपूर्ण पल थियो ती दुई खेलाडीहरूले इतिहास बदले,' उनले भने।

'आजको विश्व सन् १९७१ भन्दा पूर्णत फरक छ। पिङ-पङ डिप्लोमेसी दोहोरिन सक्दैन। तर यसका प्रभाव पक्षपोषित गर्न योग्य छन्,' चाइना एकेडेमी अफ सोसल साइनको सिनो युएस रिलेसनका विज्ञ लियु सियाङले भने।

चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वामा प्रकाशित सामाग्रीको भावानुवाद। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell