PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लकडाउन र प्रेमगीत ३ : नेपाली कलाकारको हाउभाउमा यसरी भर्दैछन् हिन्दी कलाकारले आवाज



लक्ष्मी बलायर

लकडाउन र प्रेमगीत ३ : नेपाली कलाकारको हाउभाउमा यसरी भर्दैछन् हिन्दी कलाकारले आवाज

गत वर्ष चैत २७ मा प्रदर्शन हुने घोषणा भयो फिल्म 'प्रेम गीत ३।' तर कोरोना रोकथामका लागि सरकारले लकडाउन गर्‍यो। र, स्थगित भयो प्रचार प्रसारसँगै प्रदर्शन योजना पनि।

लकडाउनले अन्य क्षेत्रमाजस्तै नेपाली फिल्म उद्योगमा पनि व्याप्त अभाव र अन्य समस्या सतहमा ल्याइदियो। प्रेमगीत सिरिजका निर्माता र निर्देशक सन्तोष सेनका लागि भने यो अवधि मौका बन्यो - 'होल्ड' मा रहेको फिल्मलाई थप माझ्ने।

लकडाउन अवधिभर उनले योजना बनाउन र त्यसलाई कसरी कार्यान्वयन गर्ने? भन्नेबारे घोत्लिए। लकडाउनको अन्त्य भएपछि उनले आफ्नो समय फिल्मको पोस्ट प्रोडक्सनमा खर्चिए। त्यसका लागि उनी भारत गए। फिल्म पोस्ट प्रडक्सन भइरहेको बेला बलिउड क्षेत्रको गतिविधि नियाल्ने अवसर पनि पाए। सबै हिसाबले राम्रो महसुस भइसेकपछि हिन्दी भाषामा डबिङ गर्ने सोच बनाए।

नतिजा - छेतेन गुरुङ निर्देशित नेपाली फिल्म ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि रिलिज हुने भयो।

कोरोना नआएको भए हिन्दीमा प्रेमगीत ३ डबिङ नहुने बताउँछन् निर्माता सेन। कोरोनाको समयमा फिल्म रिलिज गर्न हतार गर्नुभन्दा पनि फिल्मलाई बलिउड बजारमा समेत लैजाने सोचेर हिन्दी भाषामा फिल्म रिलिज गर्न लागेको सुनाउँछन् उनी।

यद्यपि, हिन्दीमा फिल्म डबिङ गर्न सजिलो भने भएन। फिल्मको कथालाई लिएर उनी आफ्नो टिमसहित मुम्बईका विभिन्न प्रोडक्सन हाउस र वितरक कम्पनी पुगे। धेरैले उनको प्रस्ताव स्वीकार गरेनन्।

सेन भन्छन्, ‘हामीले धेरै प्रोडक्सन हाउस र वितरक कम्पनीमा स्टोरी देखायौं। बल्लबल्ल एउटा कम्पनीले मान्यो। यो फिल्मलाई भारतीय बजारमा पनि रिलिज गर्नुपर्छ भन्ने कुरा गरेपछि ‘प्रेम गीत ३’ टिमले एक पाइला अघि सारेको हो।’

कोरोनाकै कारण आफूले फिल्मलाई हल्का परिमार्जन गर्न सकेको बताउँछन् उनी। कोरोना नआएको र लकडाउन नभएको भए फिल्म गत वर्ष जसरी तयार थियो त्यसरी नै रिलिज भइसकेको हुने उनले बताए।

'तर अहिले कोरोनाले गर्दा धेरै काम गर्न पायौं। फिल्ममा सुनमा सुगन्ध ल्याउने काम भइरहेको छ,' उनले भने।

हिन्दीमा पनि ‘प्रेमगीत ३’ रिलिज गर्ने भएपछि सबै क्यारेक्टरको 'फिजिकल हाउभाउ' अनुसारको आवाज खोज्न अलि समय लागेको सेनले सुनाए। साउथ इन्डियन फिल्ममा भ्वाइस दिनु भएको सबै चलेका डबिङ आर्टिस्टहरुको छनौट गरेर डबिङको काम सकेको उनले बताए।

‘डबिङ, इडिटिङ र भिएक्सको काम सकेर कलरको काम भइरहेको छ। टाइटल गीतको काम पनि भइरहेको छ। एक/दुई महिनामा फिल्म तयार हुनेछ।’

सेन नेपाली चलचित्र क्षेत्रमा अझै धेरै कुरा सुधार हुनुपर्ने बताउँछन्। कोरोनाले दिएको खाली समयमा उनले धेरै पाठ सिकको भन्दै भने 'हामी खाली फिल्म बनाउनमा ध्यान दिन्थ्यौँ। फिल्म रिलिज गर्थ्यौ। बजार त्यही थियो। तर हामीले अरु देशमा कस्ता कस्ता फिल्म बन्छन् भनेर गम्भिर भएर हेर्न पाएका थिएनौ।’

हाल भारतमा मात्रै करिब दुई करोड भारतीय लगानीमा पोस्टप्रोडक्सनको काम भइसकेको उनले बताए। खर्चभन्दा नि कसरी राम्रो फिल्म बनाउने भनेर काम गरिरहेको सुनाउँछन् सेन।

'म निकै खुसी छु। उचित समय आएपछि फिल्म रिलिज गर्ने सोचमा छु,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell