PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भारतबाट आएका एक जनामा हिजो कोरोना पुष्टि : रातीमात्र अस्पताल भर्ना, आज बिहान मृत्यु



एम बम

भारतबाट आएका एक जनामा हिजो कोरोना पुष्टि : रातीमात्र अस्पताल भर्ना, आज बिहान मृत्यु
प्रतीकात्मक फोटो

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनमा आइतवार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमण पुष्टि भएपछि उनलाई आइतवार राती साढे ८ बजे अस्पताल भर्ना गरिएको र उपचारका क्रममा सेतीस्थित अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा सोमबार बिहान ७ बजे उनको मृत्यु भएको हो।

उनमा कडा खाले निमोनिया रहेकोले श्वासप्रश्वासमा जटिल समस्या देखिएको श्रेष्ठको भनाइ छ। मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जनाएको छ। उनी फागुन पहिलो साता भारतबाट आएका थिए। सुदूरपश्चिममा नयाँ भेरियन्टको कोरोना देखिए पनि उनको मृत्यु कुन भेरियन्टको कोरोनाबाट भएको भन्ने पुष्टि हुनसकेको छैन।

नयाँ हो कि पुरानो भनेर भेरियन्ट छुट्याउन नमुना काठमाडौँ पठाउनुपर्ने र कुन मुलुकमा फैलिएको भेरियन्ट भनेर पत्ता लगाउन भने नमुना विदेश पठाउनुपर्ने बाध्यता छ। मृतकको स्वाबको नमुना सङ्कलन गरेर राखिएको र भेरियन्ट पत्ता लगाउन पठाउने वा न पठाउने भन्ने विषयमा छलफल भइरहेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell