काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। ओलीले चैत ६ गते बैठक बोलाएको केन्द्रीय कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
'६ गते ११ वजे बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाइएको हो,' उनले भने।
नेकपा एमालेको असन्तुष्ट समूह बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले समानान्तर गतिविधिलाई तिब्रता दिएपछि ओलीले थप रणनीति बनाउँन केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।
फागुन २८ गतेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले नेपाल-खनाल समूहलाई वाइपास गर्दै विभिन्न निर्णय गरेको थियो। उक्त निर्णयलाई फिर्ता लिनुपर्ने नेपाल-खनालको अडानलाई ओलीले भने अस्वीकार गर्दै आएका छन्।
यसअघि चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका ४ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।
उक्त स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्ड र घनश्याम भुसाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन्।
ओलीले नवौं महाधिवेशनबाट निर्वाचित एमालेको केन्द्रीय कमिटीलाई १० औं महाधिवेश आयोजक कमिटी बनाएका छन्। जसका लागि अध्यक्ष र महासचिव वाहेकका सबै पदाधिकारीको पद खोसिएका छन्। हाल ओलीले २ सय ६४ जनाको महाधिवेशन कमिटी बनाएका छन्।
ओलीको उक्त निर्णयलाई कुनै पनि हालतमा वैधानिक नमानिने भन्दै एमालेकै नेपाल-खनाल समूहले सबै जिल्लामा समानान्तर कमिटी गठन गरिरहेको छ। ओली समूहका नेताहरुले नेपाल समूहका नेताहरुका समानान्तर गतिविधि नरोकिएको भन्दै समानान्तर कमिटीमा मनोनित भएकाहरुलाई पनि कारवाही हुने बताउँदै आएका छन्।
