काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप गिरी प्रतिनिधिसभामा कमै बोल्छन्। तर जब उनी बोल्छन् सबैको ध्यान खिच्ने गर्छन्। सोमबार पनि संसदमा यस्तै भयो। उनी निकै भावुक रूपमा खबरदारी गर्दै प्रस्तुत भए। सांसद गिरीले राष्ट्र जटिल मोडमा पुगेको बताए। दलहरूबिचको जुहारीले संविधान नै सङ्कटमा परेको उनको भनाइ रह्यो।
प्रतिनिधिसभाको नवौँ बैठकको विशेष समयमा बोल्दै गिरिले १० मिनेट लामो भावुक र खबरदारीमूलक सम्बोधन गरे। उनले आफ्नो सम्बोधनमा संविधान सङ्कटमा परेकाले राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए। गिरिले प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दल र मधेसवादी दललाई चार वटा प्रस्ताव गरे, 'फेरि विघटनतिर नजाऔँ, राष्ट्रिय सहमतिको सरकार बनाऊ, सदनमा जुहारी नखेलौँ, संविधान जोगाउ।'
चुच्चे नक्सा कता हरायो?
गिरिले अहिले चुच्चे नक्साभन्दा पनि ठुलो सङ्कटमा देश फसेको बताए। ‘चुच्चे नक्सा कता हरायो? भ्रूण हत्या भएको हो? बाल हत्या भएको हो? वा राष्ट्रिय राजनीतिमा सानो मोहर मात्रै थियो? सतरंज खेलको प्यादा मात्र थियो?’ उनले प्रश्न गरे, ‘इनफ इज इनफ भ्रष्टाचारमा, विकासमा, कोभिड नियन्त्रणमा थियो। त्यो भन्दा ठुलो संसद् विघटनपछि गम्भीर रूपमा आएको छ। राष्ट्रकै नियति शुभारम्भ हुनेवाला छ।’
संविधान जोगाउ
गिरिले संशोधन गरेर भए पनि संविधानको रक्षा गर्नुपर्ने बताए। ‘२०४७ सालको संविधान बन्दा पनि विश्वकै उत्कृष्ट भनेर स्वागत गरिएको तर परिणाम के भयो भनेर स्मरण गर्दै २०७२ को संविधानलाई त त्यस किसिमको सुखद स्वागत समेत भएको छैन। याद राखौँ। ठुलो विवादका बिच,विभाजनका बिच, एकातिर दीपावली, अर्कोतिर ब्ल्याक आउट गरियो। दलित, महिला, जनजातिको घोर असन्तुष्टि, मधेसभित्र विद्रोह। यस संविधानलाई हामीले सम्हाल्ने कि नसम्हाल्ने? यसलाई मलजल गर्ने कि नगर्ने? मलजल गर्नुको साटो भर्खर रोपिएको बिरुवालाई उखेलेर यसको जरो लागेको छ कि छैन भनेर हेर्ने? बिरुवा लगाउनेले धैर्यपूर्वक मलजल गर्नुको साटो बिरुवा उखेलेर जरा हेर्ने प्रवृत्ति विगतमा देखियो। अब जरा हेर्ने नदिने र संविधानको रक्षा गर्ने दायित्व छ। यहीँ रूपमा गर्छौँ कि यथोचित परिमार्जनका साथ गर्छौँ? परिमार्जन टालटुल हुन्छ वा राष्ट्रको सबै समूह जाति, पहिचान समेटेर हुन्छ,’ उनले प्रश्नै प्रश्न गरे।
गिरिले प्रधानमन्त्री वा प्रतिपक्षी दलले चाहँदैन संविधान संशोधन हुन नसक्ने पनि उल्लेख गरे। ‘प्रधानमन्त्री एक्लैले चाहेर हुन्न। प्रतिपक्षीका नेता र दलले पनि केही गर्न सक्नुहुन्न। संविधान मुलत सहमतिको दस्ताबेज हो,’ उनले भने। अमेरिकी संविधान सहमतिका आधारमा बनेकाले आजसम्म कायम रहेको दृष्टान्त सुनाउँदै गिरिले राष्ट्रिय सहमतिका लागि सदनबाट आह्वान गरे।
शेरबहादुर, महन्थ ठाकुर, प्रचण्ड र वर्तमान प्रम ओलीदेखि को प्रधानमन्त्री बन्ने भनेर सडकबाट कुराहरू आइरहेको भन्दै गिरिले प्रश्न सरकारको होइन, कसले नेतृत्व गर्छ भन्ने होइन प्रश्न यो हो कि यो संविधान बचाएर यसैमा टेकेर हामी अगाडि बढ्ने हो अथवा २०४७ सालजस्तै बिजोक बनाएर जाने हो? अथवा चुच्चे नक्साजस्तो बिजोगमा हिँड्ने हो? भने।
राष्ट्रिय सहमति गरौँ
गिरिले चुनावको कुरो आइरहेको भन्दै चुनावमा जान कुनै अफ्ठेरो नभएको बताए। तर राष्ट्रिय सहमतिबाटै चुनावमा जानुपर्ने गिरिको भनाइ छ। विगतमा २०४७ को संविधानलाई सानो समूहले नमानेको स्मरण गर्दै गिरिले आज पनि त्यहीँ अवस्था आएको बताए।
आफूले कसैको विष वमन, प्रताडना नगर्ने र प्रधानमन्त्रीको प्रताडना संसद् भित्र, बाहिरबाट गरिसकेको भन्दै गिरिले भने, ‘एक पटक म उहाँलाई के भन्छु भने आफूभन्दा, आफ्नो अहमदभन्दा माथि उठेर। हिजो उहाँले आफ्नो इरादा प्रतिपक्षी नेतालाई बताउनुभएको थिएन। सभामुख लाईसमेत विश्वासमा लिनुभएको थिएन। सङ्कट एकै पटक आएको होइन। क्रमशः आएका छन्। मुख्यत प्रधानमन्त्रीका कारणले आएको छ। अब सच्याउने मौका आएको छ। प्रधानमन्त्रीलाई छोड भनेर मात्र पुग्दैन। समाधान दिनुपर्यो। त्यसमा सबै पार्टीलाई फरक परिरहेको छ। दिन प्रतिदिनको विवाद, भ्रष्टाचारको कथा, हाम्रो दलको भनाभनबाट, जुहारीबाट हल हुँदैन। हामी जुहारीमा व्यस्त छौँ। आम जनताको दुःख, कर्मचारीको दुःख, महिला, दलित, महँगाइको दुःखसम्म हामी पुग्न सकेका छैनौँ।’
जुहारीको थलो नबनाऊ
गिरिले सांसदलाई जुहारीको थलो नबनाउन आग्रह गर्दै सङ्कटलाई राष्ट्रिय सहमतिका साथ सामना गर्नुपर्ने बताए। चुनावमा जानैपरे राष्ट्रिय सहमति बनाएर जानुपर्नेमा उनले जोड दिए। तर संविधानअनुसार सांसदलाई पूरा कार्यकाल चल्न दिनुपर्ने उनको भनाइ छ।
‘म भावुकताका साथ यसलाई जुहारीको थलो नबनाईकन किन हामी यहाँ आइपुग्यौ? किन २०४७ सालको संविधान असफल भयो? अब हामी अर्को बाटो जान चाहन्छौँ भने को जिम्मेवार हुन्छ? कोही जिम्मेवार हुँदैन। कोही भन्छ भारते यस्तो गर्यो, चीनले यस्तो गर्यो, युरोपले यस्तो गर्यो। हामी त्यसमा सक्रिय सहभागी नहुन्जेल कसैले केही गर्न सक्दैन। त्यसैले हामी एक पटक आफूलाई चिह्याउ। यस सङ्कटको घडीमा सबै एक भइकन कसरी राष्ट्रिय सहमति गर्न सक्छौँ? चुनावै गर्न पनि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन तयार होऔँ। होइन भने जुन भावनाले हामीले प्रधानमन्त्रीको चुनाव गराउने एकाधिकारलाई अस्तिको संविधानमा निरस्थ गरेका थियौँ त्यसलाई ध्यानमा राख्दै सांसदलाई पूरा कार्यकाल चल्न दिऊ,’ उनले भने।
फेरि विघटन गर्नेतिर नलाग्नुस्
सांसद गिरिले प्रधानमन्त्रीलाई मेरै गोरुको बाह्रै टक्का नगर्न र संसद्मा आएर उठेका प्रश्नको जवाफ दिन अनुरोध गरे। ‘म मेरै गोरुको बाह्रै टक्का भन्ने पक्षमा छैन। मैले नै भनेको मान्नुपर्छ भन्ने छैन। तर मलाई शङ्का छ मुलुकका सबैभन्दा प्रभावशाली मानिस प्रधानमन्त्रीलाई विनम्रतापूर्वक भन्न चाहन्छु मै देश, मै पार्टी भन्नुहुन्न। लामो समय जेल बसेको, बिरामी भएको प्रधानमन्त्रीलाई भन्छु आजको राष्ट्रको नियतिलाई आफ्नो तजबिजको कुरा नमानीकन संसद्मा उपस्थित भएका सबै पार्टी, बाहिरको नागरिक समाजले उठाएका एकपछि अर्को ज्वलन्त सवाललाई सम्बोधन गरेर नयाँ उचाइ प्राप्त गर्नुस्,’ उनले भने।
गिरिले फेरि संसद् विघटन गर्नेतिर नलाग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। ‘जालझेल गरेर शकुनी पासा फ्याकेजस्तो फेरि पासा फ्याँकेर, एकपल्ट पासालाई द्रोपतीको प्रत्युत्तरले निरस्थ गर्यो। दोस्रो पटक पासा फ्याँकेर पाण्डवलाई जङ्गल पठाएजस्तो संसद् विघटन गर्ने दिशामा नगइदिनुस्,’ गिरिको अनुरोध थियो।
गिरिका सुझावलाई संसद्मा ;सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित शीर्ष नेता, परराष्ट्र मन्त्री र मधेसकेन्द्रीत नेता तथा सांसदहरूले ध्यानपूर्वक सुनेका थिए।
