काठमाडौं : पाहाँ च:ह्रेको अन्तिम दिन असनमा तीन अजिमाहरुको भेट गराइएको छ। नेपालभाषामा 'द्य ल्वाकिगु' भनिने जात्रामा अजिमा दिदी बहिनी लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई खट जात्रा गरी असन पुर्याएर भेट गराइएको हो।
रातो, नीलो र पहेँलो गरी तीन वटा रंगका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला भएका थिए। त्यसक्रममा तीनै खट जुधाएर एकअर्कालाई आदर र सम्मान प्रकट गरिएको थियो। यस्तै तीनै खटबाट चिलाख साटासाट गरिएको थियो।
जात्राका क्रममा असनका घरघरबाट चटामरी फाल्ने चलन पनि छ। चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ।
