कैलाली : कैलालीको त्रिनगर–गौरीफन्टा नाका हुँदै आज नेपाल भित्रिएका ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ४३ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कले जनाएको छ।
हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाका अनुसार सोमबार ६ सय ८ जना नेपाली स्वेदश फर्किएका छन्। ‘त्यसमध्ये सीमानाकामा ६ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो,’ ठकुल्लाले भने, ‘दैनिक एक हजार नेपाली यो नाका भएर स्वदेश फर्किरहेका छन्। आइतवार मात्रै ५४ जनामा एन्टिजेन परीक्षणमा कोरोना देखिएको थियो।’
एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरुलाई धनगढी उप–महानगरपालिकाले वडा नम्वर १५ को कनरीमा बनाएको आइसोलेसनमा राख्दै आएको ठकुल्लाले जानकारी दिए। उक्त आइसोलेसन भरीभराउ भएपछि धनगढीको कवर्डहलमा राख्ने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ।
भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको लर्को छ। पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा स्वदेश फर्किनेको भीड बढेको हो।
