काठमाडौं: सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको सिफारिसविरुद्ध परेको रिट खारेज गरेको छ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको भन्दै न्यायपरिषद्लाई विपक्षी बनाइ निर्णय बदरको माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए।
भण्डारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजप्रसाद केसीको एकल इजलासले रिट नै खारेज गर्ने आदेश गरेको हो।
न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई फागुन २८ गते न्यायाधीशका लागि सिफारिस गरेको थियो। सुवेदीको सिफारिसको चर्को विरोध भइरहेको छ। सर्वोच्च अदालत बार एशोसियसनले नै पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो।
संसदीय सुनुवाइ विशेष समितिमा पनि ५ वटा उजुरी परेका छन्। न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीशद्वय कुमार चुडाल र सुवेदीको सुनुवाइ वैशाख ३ गते हुँदैछ। अदालतले रिट खारेज गरेसँगै सुनुवाइ समितिबाट अनुमोदन हुने पक्काजस्तै भएको छ।
