बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाको कृषिलाई टेवा पुर्याउने उद्देश्यले कृषि बजार पूर्वाधार निर्माण अन्तर्गतको शित भण्डारण गृहको निमार्ण शुरु भएको छ।
सैनामैना वडा नम्बर ३ मा निर्माण हुन लागेको शित भण्डारको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले शिलायन्स गर्दै कृषकहरुलाई सहजता र सुविधा पुर्याउने उद्देश्यले शित भण्डार निर्माण शुरु भएको बताए। उनले सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर विभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको भन्दै किसानलाई लक्षित गरी ११ वटै वडामा कृषि पाठशाला सञ्चालन भएको बताए।
उनले नगरपालिकाले हाते ट्र्याक्टर वितरण र किसानहरुलाई समय समयमा अनुदानमा बीउ समेत उपलब्द गराउँदै आएको बताए। २३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाई रहेको उक्त शित भण्डार गृह पूर्ण बन्द प्रविधिको हुने सैनामैनाका प्राविधिक प्रदीप गिरीले बताए।
१ करोड ९६ लाख लागत अनुमान गरिएको उक्त शित भण्डार निर्माणको हाल पहिलो चरणको काम हुने छ। इलेक्ट्रिकल, मेकानिकल र रेफ्रिजेरेसनको काम भने दोस्रो चरणमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ।
