बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम मूल्य निर्धारण गरेको छ। नगरस्तरीय कृषि व्यवसाय प्रवर्द्धन समितिको बैठकले गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैयाँ तोकेको हो।
तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो। गत वर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तोकेकोमा यस वर्ष एक सय ५० रुपैयाँ बढाएको हो।
किसानले लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए। तोकिएको मूल्यमा कुनै किसानको गहुँ बिक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने जनाइएको छ। नगर प्रमुख एवं समितिका संयोजक बासुदेव घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गरे।
तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा १३२ मेट्रिक टन गहुँको बीउ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो। जनप्रतिनिधि आएदेखि नै तिलोत्तमाका किसानले अनुदानमा गहुँको बीउ प्राप्त गर्दै आएका छन्। अनुदानमा उन्नत बीउको उपलब्धतासँगै किसानहरुले बाँझो राख्ने खेतमा समेत पछिल्ला वर्षमा गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ।
यो वर्ष नगरपालिकाको २ हजार ७ सय १ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा झण्डै ८ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ। यतिबेला नगरपालिकाको उत्तरी क्षेत्रका किसानले लगभग गहुँ खेती भित्र्याइसकेका छन् भने दक्षिणी क्षेत्रका अधिकांश किसान गहुँ भित्र्याउने क्रममा छन्। नगरपालिकाले वडा नम्बर १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ भने वडा नम्बर ११, १२, १३, १४, १५, १६, ६, ७, ८, ९, १० मा समेत ठूलो क्षेत्रफलमा गहुँ खेती गरिएको छ।
