PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

कर्णाली प्रदेश : एमाले प्रवेश गरेका माओवादी केन्द्रबाट निर्वाचित सांसद रेग्मी पदमुक्त



पहिलोपोस्ट

कर्णाली प्रदेश : एमाले प्रवेश गरेका माओवादी केन्द्रबाट निर्वाचित सांसद रेग्मी पदमुक्त

सुर्खेत : नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। नेकपा एमालेमा प्रवेश गरेका सांसद रेग्मीलाई प्रदेशसभा सचिवालयले सोमवार सूचनामार्फत पदमुक्त भएको जानकारी दिएको हो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (२) तथा कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम १९० बमोजिम सांसद पद खारेज भएको सूचनामा उल्लेख गरिएको छ। माओवादी केन्द्रले सांसद रेग्मीलाई एमालेमा प्रवेश गरेपछि पटक पटक स्पस्टीकरण दिन ताकेता समेत गरेको थियो। तर, उनले सांसद पद गएपनि माओवादी केन्द्रमा नर्फकिने प्रतिक्रिया दिएका थिए।

माओवादी केन्द्र संसदीय दलको बैठकले चैत २० गते प्रदेशसभा सचिवालयमा दल त्याग गरेको पत्र पठाएको थियो।

दैलेखको निर्वाचन क्षेत्र नम्बर १ (क)मा माओवादी केन्द्रबाट निर्वाचित सांसद रेग्मी गत असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएदेखि एमालेको ओली समूहमा लागेका हुन्। ओली समूहबाट सांसद रेग्मीलाई एमालेको कर्णाली प्रदेश सचिवको जिम्मेवारी समेत तोकिएको छ।

माओवादी केद्रका तर्फबाट प्रदेशसभामा १३ सांसद रहेकोमा सांसद रेग्मी पदमुक्त भएपछि अब १२ सांसद हुने छन्।

यसैबीच, कर्णाली प्रदेशसभाको बैठक आगामी बैशाख ३ गतेको लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन बैशाख ३ गते शुक्रवार दिनको २ बेजका लागि आह्वान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell