काठमाडौं : बिसु पर्व (नयाँ वर्ष) को अवसर पारेर देउडा समाज, नेपालले सुदूरपश्चिमको देउडा संस्कृतिको विकासमा महत्वपूर्ण योगदान गर्ने पाँच जनालाई राजधानीमा सम्मानित गरेको छ।
सोमबार राजधानीका नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको नयाँ वर्ष (बिसु पर्व) का अवसरमा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउद, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकुलपति जजमान गुरुङ र देउडा समाजका अध्यक्ष एवं वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
सम्मानित हुनेहरुमा रेडियो नेपालको अंग्रेजी भाषाका समाचारवाचक वरिष्ठ संचारकर्मी हरिश चन्द (माइकल चन्द), नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेल, संस्कृतिविद् शशि थापा, प्राइम टेलिजिभनका वरिष्ठ पत्रकार कृष्ण मल्ल र वरिष्ठ देउडा गायक भोजराज भट्ट छन्।
देउडा समाजले विसु पर्व (नयाँ वर्ष ) का अवसरमा संस्कृति संरक्षणका लागि हरेक वर्ष देउडा सम्मान आयोजना गर्दै आइरहेको देउडा समाज नेपालका अध्यक्ष नन्दकृष्ण जोशीले बताए। सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्व भन्ने गरिन्छ।
