काठमाडौं : कथाको पात्र मानव क्षेत्री सानदार जीवन बाँच्छ। उ निकै घमण्डी, कन्जुस र पैसामुखी हुन्छ। उसको जीवनको मुख्य उद्देश्य हुन्छ - जसरी पनि पैसा कमाउने अर्थात् श्री वृद्धि गर्ने।
मानव सिनेजोन कम्पनीका पार्टनर हुन्। कोरोना महामारी बढ्दै जाँदा सरकार लकडाउनको तयारी गर्दै थियो। लकडाउन शुरु हुनुअघि सिनेजोन कम्पनीका सेयर होल्डरहरू आफ्नो जिम्मेवारीबाट उम्किन खोज्छन्। र, सबै भार पर्छ मानवको टाउकोमा। कोरोना भाइरस संक्रमणसँगै निम्तिएको अभाव र त्यसले गर्दा पारेको आर्थिक भारका कारण उनले भएका तीनजना कर्मचारी पनि निकाल्छन्।
लकडाउन हुन्छ। जसरी आम मानिस घरभित्रै थुनिए त्योभन्दा फरक लाग्छ मानव पात्र थुनिनुको प्रसङ्ग। त्यसपछि उनले भोग्नु पर्ने आरोह र अवरोह वरपर घुम्छ फिल्म 'श्री'को कथा।
उनले कार्यालयबाट निस्किन गरेको संघर्षले बुझाउँछ, पैसा भएर पनि केही नहुने अवस्थामा पुगिन्छ। पैसा भएर पनि सुखी भइँदैन भन्ने बुझाउँछ परिस्थितिले।
दुई घण्टा श्रीले समेटेको छ झण्डै आधा वर्ष लामो लकडाउनमा आम मानिसले भोगेको छट्पटाहट। एउटै घरभित्र सीमित कथावस्तुसँग दर्शकले आफ्नो मनोवैज्ञानिक अवस्था तुलना गर्न सक्छन्। दृश्य दोहोरिन्छ तर पट्यार लाग्दो बनाउँदैन। ती दृश्यहरूलाई जिवन्तता दिएको छ मानवको भूमिका निर्वाह गर्ने सन्दिपको अभिनयले। प्राय रमाइला अनि व्यङ्ग्यात्मक दृश्यमा फिट हुने सन्दिपको गम्भीर रुपले फिल्मलाई खल्लो हुन त दिएको छैन नै साथै भावुक बनाउँछ दर्शकलाई।
फिल्मले कोरोना महामारी र लकडाउनले सिर्जना गरेको समस्यालाई दुरुस्त उतारेको छ। चाहे त्यो अभावको परिस्थिती होस् या मानसिक रुपमा पारेको असर। मनोसामाजिक प्रभावलाई सुक्ष्म तरिकाले कथामार्फत् प्रस्तुत गर्न सफल देखिन्छन् एभरेष्ट सुर्य बोहरा र शिवन अधिकारी। निर्देशनको पाटो समेत सम्हालेका बोहराको काम तारिफयोग्य छ।
मानिससँग जति पैसा भए पनि परिवार, आफन्त, एकआपसमा माया र सद्भाव भएन भने उ एक्लो नै ठहरिन्छ भन्ने सन्देश दिइएको छ।
लकडाउनले कसरी एक धनी व्यापारीलाई पनि धरधरी रुने बनायो। अन्य वर्गको अवस्था के होला? फिल्मले प्रश्न जगाउँछ। स्वास्थ्य सुविधा, सडक र सवारीको पहुँच भएको काठमाडौंको मानिसको दैनिकी चित्रण गरिएको छ। ती दृश्य हेर्दै गर्दा सोच्न बाध्य भइन्छ - दूर्गममा कोरोनाविरुद्ध लडिरहेकाहरूको अवस्था झन् कस्तो होला?
कथावस्तु राम्रो हुँदाहुँदै पनि फिल्मका केही पाटोबारे प्रश्न उठ्छ नै। फिल्म एकै पात्र केन्द्रित छ। वर्षा शिवाकोटी, बुद्धि तामाङ, बसुन्धरा भुषाल, राजाराम पौडेल, रबिन्द्र झा र सबिता गुरुङलगायत कलाकारहरूको उपस्थितिलाई महत्व दिइएको छैन। सन्दिप क्षेत्रीले भूमिका निर्वाह गरेको पात्रको मात्रै कथा केन्द्रमा राख्दा अन्य पात्रहरूको दैनिकी कसरी अघि बढ्छ पत्तो हुँदैन। कतिपय अवस्थामा त कुन पात्र कता पुगे? पत्तो हुँदैन।
केन्द्रमा राखिएको पात्रको कथाका केही दृश्य अपत्यारिलो लाग्छ। घरभित्र थुनिँदा उसले गेटको चाबी खोल्न संघर्ष गर्छ। सक्दैन, दर्शकले उनलाई विचरा भन्छन्। थुनिएकै कारण उनले खाना र पानीसमेत पाउँदैनन्। जसका कारण ट्वालेटको पानी पिउन बाध्य हुन्छन्। त्यसरी बेहोस भएर मृत्युको मुखमा पुग्दा लकडाउन अघिको त्यही चलाख व्यापारी त्यहाँ जीवनका लागि संघर्ष गरिरहेको भान हुँदैन। उ विल्कुल फरक पात्र हुन् कि भन्ने प्रश्न उठ्न सक्छ।
सुरुवातमा फिल्ममा महत्व राख्लान् जस्तो लागेका पात्रहरूलाई अन्तिमसम्म निस्क्रिय राख्नु, केही दृश्यमा ध्वनीलाई हाबी हुन दिनु र केही सम्पादकीय त्रुटिलाई नजरअन्दाज गर्ने हो भने 'श्री' हेर्न हलसम्म पुग्दा फरक पर्दैन।
'श्री'ले लकडाउनको प्रभावलाई विषयवस्तु बनाएको छ नै। साथै लकडाउनकै कारण ठप्प फिल्म क्षेत्रलाई राहत पनि दिलाएको छ। नयाँ फिल्म पर्खिएर बसेका दर्शक मात्र नभइ हल सञ्चालकहरूमा पनि आशा जगाएको छ।