PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

क्रान्तिकारी माओवादीले वैशाख र जेठमा संघर्ष र संगठनात्मक दुई महिने अभियान चलाउने



पहिलोपोस्ट

क्रान्तिकारी माओवादीले वैशाख र जेठमा संघर्ष र संगठनात्मक दुई महिने अभियान चलाउने

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नयाँ वर्षसँगै दुई महिने संगठनात्मक अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको चैत २८ र २९ गते सम्पन्न पोलिटब्यूरो कमिटीको बैठकले संगठन र संघर्ष सम्बन्धि कामहरु बारे २०७८ सालको बैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टीका महासचिव मोहन वैद्यले जारी गरेको वक्तव्यमा उल्लेख छ।

त्यस्तै, पार्टीले सबै प्रदेशहरुमा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। त्यस्तै २२ अप्रिललाई पार्टी स्थापना दिवस तथा लेनिन दिवसका रुपमा मनाउने, मई दिवसलाई सबै प्रदेशहरुमा केन्द्रित कार्यक्रमका रुपमा मनाउने र मार्क्स दिवस मनाउने निर्णय गरेको छ।

बैठकले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसहितका भूभाग फिर्ता गराउन सरकारले गम्भिरतापूर्वक पहल नगरेको निष्कर्षसमेत निकालेको छ। राष्ट्रपतिले हालै वितरण गरेको विभूषण/पदकमा उक्त भूभागको पुरानै नक्सालाई कायम गरिएको र एमसीसी सम्झौता संसदमा पारित गराउने धृष्टता गरिएको भन्दै विरोधसमेत क्रान्तिकारी माओवादीले विरोध गरेको छ। त्यस्तै बैठकले देशको राष्ट्रिय स्वाधीनताको सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि आह्वानसमेत गरेको छ।

बैठकले राष्ट्रिय स्वाधीनताको रक्षा, मजदुर, किसान, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, अधिकारको प्राप्ति, बेरोजगारी सहित जनजीविकाका समस्याको समाधान, भ्रष्टाचार कमिसनतन्त्र, महङ्गी, महिलाहरुको बलात्कार तथा हत्याको विरोध लगायतका विषयलाई लिएर विकेन्द्रित तथा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरुद्वारा सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको वक्तव्यमा भनिएको छ।

बैठकले वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था आर्थिक, राजनीतिक एवम् सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको भन्दै संसदीय व्यवस्था तथा कम्युनिस्ट नामधारी संशोधनवादी शक्ति गम्भीर सङ्कट तथा विभाजनमा फसेको वर्तमान अवस्थामा देश र जनताका हक, हित तथा मुक्तिका लागि नयाँ जनवादी राज्यसत्ता अर्थात् सङ्घीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादको विकल्पलाई सशक्त रुपमा प्रस्तुत गर्ने निर्णयसमेत बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell