
काठमाडौं : वैदेशिक रोजगारीका लागि विदेश पुगेका एक नेपालीलाई इन्टरपोलको सहयोगमा प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीले उनलाई आजै दुवईबाट नेपाल ल्याएको छ। श्रीमतीको हत्या अभियोगमा उनी पक्राउ परेका हुन्।
नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा काजीमान पुरीलाई नियन्त्रणमा लिएको थियो। प्रहरी प्रधान कार्यालय नक्सालबाट गएको प्रहरी टोलीले दुवईबाट श्रेष्ठलाई पक्राउ गरेर आज बिहानमात्र नेपाल ल्याएको हो।
२०७६ चैत २९ गतै तेह्रथुमको आठराई गाउँपालिकामा २८ वर्षीय बिन्दा पुरीको शव भेटिएको थियो।
हत्या भएको समयमा उनका श्रीमान काजीमान भने दुवईमा नै थिए। घटनाको अनुसन्धान गर्ने क्रमममा काजीमानको योजनामा नै हत्या भएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिएको थियो। हत्या अभियोगमा काजीमानका दुई भाइ अहिले पूर्पक्षका लागि थुनामा छन्। उनीहरुको बयानको आधारमा नै काजीमानलाई प्रहरीले पक्राउ गरेको हो।
'आज बिहान हामीले दुबईबाट पक्राउ गरेर ल्याएका हौं। उनलाई थप अनुसन्धानको लागि तेह्रथुम नै पठाउने तयारी भइरहेको छ,' एक प्रहरी अधिकृतले सुनाए।
प्रहरीका अनुसार विदेशमा रहेका काजीमानलाई बिन्दाको चरित्रको विषय उठाउँदै खबर पुर्याएपछि उनकै योजनामा हत्या भएको हो। उनको हत्या योजनामा उनका दुई भाइ ३१ वर्षीय सुरेन्द्र पुरी र २४ वर्षीय बालकृष्ण पुरीले साथ दिएका थिए।
'दाइको योजनामा भाइहरुले हत्या गरेको देखिन्छ। उनले विदेशमा बसेर नै योजना बनाएका थिए,' जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले भने।
चैत २८ गते दाजुको योजना अनुसार दुई भाइ झापाबाट गाडी भाडामा लिएर तेह्रथुम पुगेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनीहरुले मार्ने योजना अनुसार बुधवारेमा पुगेर डोरी समेत किनेका थिए। दिउँसो मानिसले थाहा पाउने भएकाले राती मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ। योजना अनुसार नै उनीहरु मध्यरातमा तेह्रथुम पुगेका थिए।
बिच बाटोमा उनीहरुले होटेलमा मदिरा खाएको र दाइसँग कसैले थाहा नपाउने गरी मारेर भाग्ने योजनामाथि कुरा गरेको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ।
'उनीहरु काठमाडौं जाने भन्दै घरमा झुटो बोलेर भाउजू मार्न गएको देखिन्छ। त्यसैका लागि केही दिनदेखि तयारी समेत गरेका थिए,' निरीक्षक ठाकुरले भने।
उनीहरुले त्यसअघि पनि बिन्दालाई मार्ने योजना बनाएका थिए जुन सफल हुन नसकेको प्रहरीको दावी छ। १२ बजे घरमा पुगेर भाउजुलाई बोलाएका थिए उनीहरुले। राती खाना पकाउन किचेनमा छिरेको समयमा उनीहरुले घाँटीमा डोरी लगाएर हत्या गरेको प्रहरीको दावी छ। 'डोरीले घाँटी कसे तर डोरी चुँडियो। अनि फेरि चक्कुले रेटेर मारेको देखियो,' निरीक्षक ठाकुरले सुनाए।
त्यसपछि उनीहरु राति नै गाडी लिएर फर्किएका थिए। प्रहरीको प्राविधिक तथा अन्य पक्षको अनुसन्धानले घटनामा उनीहरुको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको थियो।
दुबईबाट समातिएका काजीमानलाई तेह्रथुम ल्याएर थप अनुसन्धान गर्ने प्रहरीले जानकारी दिएको छ।