PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मोटरसाइकल चोरी हुने क्रम बढ्दो : ९ महिनामा २ सय ४६ वटा उजुरी



निशा गुरुङ

मोटरसाइकल चोरी हुने क्रम बढ्दो : ९ महिनामा २ सय ४६ वटा उजुरी

हेटौँडा : पछिल्लो समय सवारी साधनमध्ये मोटरसाइकल चोरी धेरै हुन थालेको छ। विशेषगरि हेटौँडाकै मुख्य-मुख्य चोकहरुबाट समेत मोटरसाइकल हराउन थालेको हो।

चोक-चोकमा सीसीटीभी क्यामेरा राखेतापनि यस्ता खाले चोरीको घटनामा भने कमी आउन सकेको छैन। सवारी साधनमध्ये मोटरसाइकल चोर्न सहज हुने भएको कारणले पनि चोरीको घटना बढ्दो रहेको प्रहरीको भनाइ छ।

मकवानपुरमा मात्र नभई वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुमा चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा दुई सय ४६ वटा मोटरसाइकल हराएको उजुरी परेको छ।

विभिन्न स्थानमा पार्किङ गरेको अवस्थामा, घर र अफिसबाट मोटरसाइकल हराउने गरेको वाग्मती प्रदेश कार्यालयले जनाएको छ। हराएर उजुरी परेकोमध्ये ५६ वटा मोटरसाइकल फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन्।

प्रदेश प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न ५८ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको चौधरीले जानकारी दिइन्। प्रहरीले विभिन्न समय र स्थानबाट मोटरसाइकल चोरी गरी लैजादै गर्दा, अनुसन्धानको क्रममा तथा सीसीटीभीको सहयोगमा उनीहरूलाई पक्राउ गरेको उनले बताइन्। त्यस्तै फेला परेकामध्ये २६ वटा मोटरसाइकल सम्बन्धित धनी सम्पर्कमा नआएका कारण प्रहरी कार्यालयमा रहेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

आवश्यक कागजातपत्र लिई हक दाबी गर्न अहिलेसम्म कोही पनि नआएको कारण उक्त मोटरसाइकल प्रहरी कार्यालयमा नै राखिएको जनाएको छ। हराएकामध्ये अधिकांश मोटरसाइकल पल्सर ब्राण्डका रहेको र सार्वजनिक स्थानमा पार्किङ गरेको अवस्थामा हराउने गरेको र केही आफ्नै घरबाट हराउने गरेको प्रहरी कार्यालयले जनाएको छ।

यस वर्ष मकवानपुरमा ९७ वटा, चितवनमा ७३ वटा, धादिङमा २२ वटा र काभ्रेमा १९ वटा, नुवाकोटमा ११ वटा, दोलखा र सिन्धुलीमा सात सय ९७ वटा तथा रामेछाप र सिन्धुपाल्चोकमा पाँच सय ९५ वटा मोटरसाइकल हराएका छन्। प्रहरीले हराएका मोटरसाइकलमध्ये चितवनमा १५ वटा, मकवानपुर र धादिङमा ११ हजार नौ सय ११ वटा र काभ्रेमा ८ वटा, रामेछापमा ५ वटा, दोलखा र नुवाकोटमा दुई सय ९२ वटा तथा सिन्धुली र सिन्धुपाल्चोकमा एक सय ९१ वटा मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

उजुरी परेको आधारमा भेटिएको संख्या ज्यादै न्यून छ। सवारी धनीको लापरबाही र खुल्ला सिमानाका कारण चोरी बढिरहेको वरिष्ठ प्रहरी उपरीक्षक चौधरीले जानकारी दिइन्। अभियुक्तले ३० हजार रुपैयाँदेखि एक लाखसम्म यस्ता चोरीका मोटरसाइकल बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell