जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद मण्डलले जानकारी दिए।
गत पुष १२ गते पछि यस प्रदेशमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन। मंगलवार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छाता पिपराका ३७ वर्षीय पुरुष र वीरगंज महानगरपालिका वडा नम्बर ३ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको हो। त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
थपिए ५६ संक्रमित
यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी क्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्सामा ३८ जना, सिरहामा ७ जना, धनुषामा ४ जना, बारामा ४ जना, सप्तरीमा २ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ३ पुगेको छ भने प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९३ पुगेको छ। हाल पर्सामा १ सय १४ जना, बारामा ३९ जना, धनुषामा १९ जना, सिरहामा ८ जना, महोत्तरीमा ७ जना, सप्तरीमा ३ जना, सर्लाहीमा २ र रौतहटमा १ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।
