PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बेङ्ग्लुरु एफसीसँग खेल्दै आर्मी, बेङ्ग्लुरुका कप्तान क्षेत्री भन्छन्: यो खेल सहज हुने छैन



पहिलोपोस्ट

बेङ्ग्लुरु एफसीसँग खेल्दै आर्मी, बेङ्ग्लुरुका कप्तान क्षेत्री भन्छन्: यो खेल सहज हुने छैन

काठमाडौं: एएफसी कप अन्तर्गतको दोस्रो चरणको प्रारम्भिक छनोटमा आज नेपाली क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतीय क्लब बेङ्ग्लुरु एफसी प्रतिस्पर्धा गर्दैछन्। भारतको गोवास्थित जीएसमी स्टेडियममा हुने खेल आज साँझ पौने ८ बजे सुरु हुनेछ।

यसअघि अघिल्लो हप्ता प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंको दशरथ रंशगालामा सम्पन्न भएको थियो। उक्त खेलमा आर्मीले श्रीलंका पुलिसमाथि ५-१ को सानदार जित निकाल्दै बेङ्ग्लोरसँग भेट सुनिश्चित गरेको थियो।

बेङ्ग्लुरुसँग खेल्नका लागि आइतवार आर्मीको टिम उपरथी निरञ्जन श्रेष्ठको नेतृत्वमा गोवा प्रस्थान गरेको थियो। बेङ्ग्लुरु एफसी र आर्मीबीचको विजेताले वैशाख ८ गते हुने तेस्रो चरणको प्रारम्भिक चरणको खेल बंगलादेशी टिम अम्बानी लिमिटेड (ढाका) र क्लब इगल्सबिचको विजेतासँग खेल्नेछन्।

आर्मीको टिममा यसअघि पहिलो चरणको प्रारम्भिक चरणमा पहिलो रोजाइका दुई खेलाडीले कोरोनाका कारण खेल गुमाएका थिए। आर्मीका नियमित गोलकिपर विकेश कुथ र स्ट्राइकर जर्ज प्रिन्स कार्कीले उक्त खेल गुमाएका थिए। उनीहरुले बेङ्ग्लुरुसँगको पनि खेल गुमाउने छन्।

बेङ्ग्लुरुका प्रशिक्षक मार्को पेज्जाइओलीले आफ्नो टिमको तयारी राम्रो भएको भन्दै खास गरी आफ्नो टिमका युवा खेलाडीहरुले कडा मेहनत गरिरहेको बताए।

'यो खेल हाम्रो लागि महत्वपूर्ण हुनेछ। किनभने अघिल्लो सिजन हामी चाँडै बाहिरिएका थियौं। र, यसपटक कम्तीमा समूह चरण हामी पुग्न चाहन्छौं,' उनले भने, 'यसको लागि हामीले नेपाली क्लबलाई हराउनु पर्नेछ। मलाई विश्वास छ त्यसका लागि हामी सक्षम छौं।'

त्यस्तै भारतीय टिमका कप्तानसमेत रहेका सुनिल क्षेत्री बेङ्ग्लुरुका कप्तान छन्। उनले अघिल्लो सिजनमा आफ्नो टिमबाट कमजोरी भएको बताउँदै त्यसबाट शिक्षा लिएर यसपटक अघि बढ्ने बताए।

'त्रिभुवन आर्मी क्लबले श्रीलंकाको टिमलाई हराएको हामीले हेर्‍यौं। उनीहरुले निकै राम्रो खेलेका थिए,' कप्तान क्षेत्रीले भने, 'तपाईले उनीहरुको टिममा एकरुपता देख्न सक्नुहुन्छ। पक्कै उनीहरुले लामो समय सँगै खेलेको हुनुपर्छ। यो खेल सजिलो हुने छैन।'

यसअघि श्रीलंकाली टोलीसँगको खेल जितेसँग आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टिमले एएफसी लाइसेन्स पाएसँगै तयारी गरेकाले आफ्नो टिमको तयारी पर्याप्त रहेको बताएका थिए।

'हामीले आईएसएलमा बेङ्ग्लुरुको खेल हेरेका छौं,' प्रशिक्षक न्यौपानेले भने, 'उनीहरु उत्कृष्ट टिम हुन्। यद्यपि मलाई लाग्छ हामी उनीहरुलाई कडा टक्कर दिन सक्नेछौं।'

खेलको प्रत्यक्ष प्रसारण बेङ्ग्लुरु एफसीको अफिसियल युट्युब च्यानलबाट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell