वीरगंज : नेपाली कथानक चलचित्र ‘विवेक’को लागि कलाकारहरू छनौट गर्न प्रदेश २ को जनकपुर र वीरगंजमा अडिसन सम्पन्न भएको छ। एक साताभित्र दुवै शहरबाट कलाकार छनौट गर्ने प्रकृया सम्पन्न भएको चलचित्रका निर्देशक तथा निर्माता माधव वाग्लेले जानकारी दिए।
जनकपुरमा ५६ जना र वीरगंजमा करिब २० जना कलाकारहरुले अडिसन दिएका छन्। मधेसको परिवेश, रीति, संस्कृतिमाथि निर्माण हुने यो चलचित्रको कुल बजेट ४ करोड रुपैयाँ छ। जेठको दोस्रो सातादेखि चलचित्रको छायांकन गर्ने लक्ष्य फिल्म यूनिटको छ।
चलचित्रको लागि करिब ८० जना कलाकारहरू आवश्यक रहेकोले वास्तविक प्रतिभाको खोजीमा अडिसन गरिएको निर्माण टोलीले बताएको छ। फिल्ममा यसअघि ‘सेल्फी कि’, ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘गोपी’, ‘हरि’, ‘प्रसाद’,‘छड्के’ लगायत एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका अभिनेता विपीन कार्की मुख्य भूमिकामा रहेन छन्।
चलचित्रको कथा लेखक लोकनाथ कोइरालाका अनुसार नेपालमा बन्ने नेपाली फिल्मले काठमाडौंको कथालाई आधार बनाएर चलचित्र बनाउँदा सफलता हासिल गर्न नसकेकोले तराई मधेसको कथालाई पनि समेट्न यस भेगका कलाकारलाई पनि अवसर दिन खोजिएको बताए। त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यमा अध्यापन गराउँदै आएका कोइराला पछिल्लो समयमा चलचित्र लेखनमा लागेका छन्।
‘विवेक’ चलचित्र भोजपुरी र मैथिली भाषामा पनि डबिङ गर्ने लक्ष्य छ। मधेसको संगीतलाई स्थान दिने र मिथिला संस्कृतिलाई प्रवर्द्धन गर्दै मधेस आन्दोलनको विषय वस्तुलाई पनि फिल्मले समेटने बताइएको छ।
