काठमाडौं : २०७७ सालमा एक अर्कालाई आरोप प्रत्यारोपमा समय खर्चिएका शीर्ष नेताहरुले नयाँ वर्षको शुभकामना सन्देशमा पनि एक अर्कालाई कटाक्ष गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक विषय समावेश नगरी शुभकामना दिए पनि अरु नेताहरुले राजनीतिक विषय जोडेरै शुभकामना दिएका छन्। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका नेताहरुको शुभकामनामा पनि ओलीलाई प्रहार गरेका छन्। ओलीले पनि आफू इतर नेतालाई शुभकामनाबाटै कटाक्ष गरेका छन्।
कुन नेताको 'स्टाइल' कस्तो?
प्रधानमन्त्री ओलीले नयाँ वर्षको पूर्वसन्ध्यामै मंगलवार सामाजिक सञ्जालमार्फत शुभकामना दिएका थिए। उनको शुभकामना सन्देश नेपाली र अंग्रेजी भाषामा लेखिएको छ।
ओलीले नयाँ वर्षकै अवसरमा देशवासीका नाममा बुधबार सम्बोधन समेत गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीकै शैलीमा आफ्नो फोटोसहितको शुभकामना दिएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शुभकामना दिने शैली देउवा र ओलीको भन्दा भिन्न छ।
प्रचण्डले विज्ञप्ति नै जारी गरेर शुभकामना सन्देश दिएका छन्। यसरी शुभकामना सन्देश जारी गर्ने अर्का शीर्ष नेता हुन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल। नेपालले शुभकामनामा आफ्नो फोटो राखेका छैनन्। नेपालले पनि मंगलबार नै सन्देश जारी गरेका थिए।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराई अरु शीर्ष नेताभन्दा समाजिक सञ्जालमा अघि नै छन्। समसामयिक घटनाबारे उनको तत्काल टिप्पणी आइहाल्छ। तत्काल टिप्पणी गरिहाल्ने भट्टराईले शुभकामना नदिने त कुरै भएन। शुभकामना सन्देशमा उनले हाम्रो पात्रोकै थमवेललाई शेयर गरेका छन्।
शुभकामना पनि कटाक्ष पनि
नेताहरुको पुरानो वर्ष एक अर्काको पोलपालमै बित्यो। यसरी पोलपाल गर्नेमा फरक पार्टीको भन्दा आफ्नै पार्टीका नेता सक्रिय देखिए। पार्टी एक हुँदाका बखत एक अर्काको प्रशंसा गरेर नथाक्ने शीर्ष नेता अलग हुँदा भने पोल खोलाखोलमा लागे। एक अर्काको आलोचना गर्नेमा प्रधानमन्त्री ओली अघि-अघि छन् भने उनलाई पछ्याइरहेका छन् एमालेकै वरिष्ठ नेता नेपाल र ओलीका पूर्व सहकर्मी प्रचण्ड। जसको झल्को नयाँ वर्षको शुभकामना दिँदा पनि देखिएको छ। ओलीले बालुवाटारबाट सम्बोधन गर्दै प्रचण्ड-नेपाललाई असभ्य भएको आरोप लगाएका छन्।
'अचम्म संसदमा अध्यादेश प्रस्तुत गर्न नदिएर असभ्यता प्रस्तुत भएको छ। फाटोको राजनीति हैन आजको आवश्यकता राष्ट्रिय एकताको हो,' ओलीले भने।
एमालेका वरिष्ठ नेता नेपालले दिएको शुभकामना सन्देशमा भने अग्रमनका लागि सन्देश दिइएको छ। नेता नेपाल ओलीले पार्टी र देशका लागि प्रतिगमन गरेको भन्दै हाल राजनीतिक रुपमा ओलीसँग सम्बन्धविच्छेदको अवस्थामा छन्। 'नयाँ वर्ष २०७८ को अवसरमा अग्रगमन, सुशासन, एकता र समृद्धिको लागि हार्दिक शुभकामना!,' नेपालको शुभकामनामा भनिएको छ।
नयाँ सरकार र वाम एकताका लागि आह्वान
अरु नेताले समाजिक सञ्जालमा मात्रै शुभकामना दिएका भए पनि प्रचण्डले भने विज्ञप्ति नै जारी गरेका छन्। उनको विज्ञप्तिमा नयाँ सरकार गठन देखि कम्युनिष्ट एकता सम्मका विषयलाई स्थान दिइएको छ।
जनतामा ओलीविरुद्ध लडने समार्थ्य पैदा हुने उल्लेख गर्दै प्रचण्डले लेखेका छन्, 'प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुनेछ भन्ने विश्वास लिएको छु।' नेतृत्वको दुरगामी सोचका कारण कम्युनिस्ट पार्टीहरु बीच एकता सम्भव भएको भए पनि प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरेको प्रचण्डको आरोप छ। उनले षडयन्त्रलाई तोडन क्रान्तिकारी वाम एकताका लागि अपिल गरेको शुभकामना सन्देशमा उल्लेख छ। नयाँ सरकार गठन अपरिहार्य भइसकेको भन्दै प्रचण्डले अरु पार्टीलाई पनि मोर्चाबन्दी गर्न आह्वान गरेका छन्।
'प्रतिगामी कदमविरुद्ध संघर्षरत सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकताबद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आह्वान पनि गर्दछु,' सन्देशमा भनिएको छ।
देउवाले मिसाएनन् राजनीति
प्रधानमन्त्री ओलीविरुद्धको मोर्चाबन्दीमा जसपाका नेता डा. बाबुराम भट्टराई पनि खरो रुपमा उत्रिरहेका छन्। उनले सार्वजनिक रुपमै ओलीलाई पदमा बस्ने नैतिकता नभएको बताइसकेका छन्। उनले नयाँ वर्ष २०७८ को शुभकामनामा पनि राजनीतिक कटाक्ष गरेका छन्। उनले ओलीलाई आधुनिक भष्मासुरको संज्ञा दिँदै नयाँ वर्षले उक्त प्रवृतिबाट मुक्ति दिलाउने कामना गरेका छन्। 'बि.सं. नयॅा बर्ष २०७८ ले सबैलाई कोभिड-१९ र आधुनिक भष्मासुरबाट मुक्ति देओस्! सबैको जीवनमा सुख,शान्ति,समृद्धि छाओस्! हार्दिक शुभकामना!,' भट्टराईको सन्देशमा भनिएको छ।
प्रचण्ड, नेपाल र भट्टराईले ओलीलाई निशाना बनाएर शुभकामना सन्देश दिएका भए पनि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले भने राजनीतिको विषय नै जोडेका छैनन्। देउवाले सम्पूर्णमा सुस्वास्थ्यको कामना गरेका छन्।
