काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुक्रवार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहीले शुक्रवारको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्।
उनले प्रदेशसभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन उनको आग्रह छ।
गएको चैत ४ गते नेकपा एमाले केपी ओली समूहका दश सांसदले सरकारलाई दिएको समर्थन चैत ५ गतेदेखि लागू हुनेगरी समर्थन फिर्ता लिने निर्णय गरेको थियो। यस घटनाले ओली र माधव नेपाल समूहमा विभाजित एमालेभित्र टकराव शुरु भयो। नेपाल समूहका सांसदहरुको पद नै धरापमा हुँदा अन्ततः सत्तामा रहेका तीन मन्त्रीले राजीनामा दिएर अहिले एकजुट बनेका छन्।
नेकपा एमालेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पार्टीबाट सरकारमा रहेका तीन सांसदले एक साता अघि राजीनामा दिएका हुन्। मुख्यमन्त्री शाहीको समर्थनमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्। वैशाख ३ गते आव्हान गरिएको प्रदेशसभा बैठकमा सरकार फेरबदलको टुंगो लाग्ने छ।

