PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

स्वर्गद्वारीमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु



पहिलोपोस्ट

स्वर्गद्वारीमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं : प्यूठानमा जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित ५ जनाको मृत्यु भएको छ। स्वर्गद्वारीको दर्शन गर्न गएका जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सहित १७ जना सवार लु १ ज १६५५ नम्बरको जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ रुमाले भन्ने स्थानमा दुर्घटना भएको हो।

जिप सडकदेखि अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ। दुर्घटनामा प्रशासकीय अधिकृत न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार इश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र चालक केशव कार्कीको मृत्यु भएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनिता कडेल, गिता बोहरा (मुखिया), कमला पन्थी (ज्ञवाली), सार्थक ज्ञवाली, सन्जिव परियार र मुना पाण्डेलाई हेलिकप्टर मार्फत तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। सो जिपमा सवार अन्य ६ जना घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको गृहले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell