PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मेलम्चीको पानीले ध्वस्त पार्दै सडक, सतही लोकप्रियताका लागि पुरानै प्रणालीबाट वितरण गर्नुको परिणाम!



दिनेश खड्का

मेलम्चीको पानीले ध्वस्त पार्दै सडक, सतही लोकप्रियताका लागि पुरानै प्रणालीबाट वितरण गर्नुको परिणाम!

काठमाडौं : हिजोआज काठमाडौंका सडकमा पानी रसाइरहेको देख्न सकिन्छ। कति ठाउँमा पानीको बहाव बढी नै भइरहेको हुन्छ भने कतिपय ठाउँमा छिपछिपे।

ठाउँठाउँमा पानी देख्नसाथ यात्रुहरु अनुमान गरिहाल्छन् - यो पक्कै मेलम्चीको पानी हुनुपर्छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले यसरी छतछुल्ल भएको मेलम्चीकै पानी भएको जनाएको छ। पुरानै प्रणालीबाट पानी पठाउँदा उपत्यकाका विभिन्न स्थानका सडकमा पाइप फुटेर पानी छताछुल्ल हुन थालेको हो।

जबर्जस्ती पानी पठाउँदा करिब ३ सय ठाउँमा अहिले नै चुहावट देखिइसकेको बताइएको छ। त्रिपुरेश्वर, बालाजु, लैनचौर, नागपोखरी, वीर अस्पताल, अनामनगर, लगनखेल, कुमारीपाटीलगायतका विभिन्न स्थानमा पानी चुहिएर सडकमा निस्किएको छ। महाराजगञ्ज क्षेत्रमा मात्रै १० भन्दा बढी ठाउँमा लिकेज छ।

केयुकेएल र सडक विभाग हैरान

केयुकेएलले मेलम्चीको पानी वितरणका क्रममा कम्तीमा उपत्यकाका सडकमा वर्षमा ३६०० खाल्डा पर्ने अनुमान गरेको छ। पुरानो वितरण प्रणालीबाट आगामी एक वर्षसम्म पानी वितरण गरिने भएकाले ३६०० खाल्डा पर्ने अनुमान केयुकेएलले गरेको हो।

मेलम्चीको पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानका घर घरका धारामा परीक्षण वितरण भइरहेको छ। धेरै ठाउँमा पुरानो वितरण प्रणालीले पानीको चाप नधान्दा पाइप फुटेर पानी खेर जानुका साथै सडक बिग्रिने समस्या बढेको छ। मेलम्चीको पानी परीक्षण वितरण गर्न हतारिएको सरकारका कारण यतिबेला सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्राविधिक हैरान छन्।

वितरण प्रणालीमा पानीको लिकेज मर्मत गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मासिक रूपमा कम्तीमा ३ सय वटा लिकेज हुने अनुमान गरिएको बताएका छन्।

मेलम्चीको पानी वितरणका लागि नयाँ प्रणाली निर्माण गरिएको भए पनि परीक्षण नभइसकेका कारण केयुकेएलले पुरानै सिस्टमबाट वितरण गरिरहेको छ। केयुकेएलका अनुसार दशकौं पुरानो पाइपलाइन, लामो समयसम्म पानी नहालिएका कारण धेरै लिकेज देखिएको हो। केयुकेएलको प्रणालीमा पहिले नै करिब ३० प्रतिशत चुहावट थियो। सतही लोकप्रियताका लागि सरकारले पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गर्न थालेपछि यसको प्रभाव उपत्यकाका सडकहरुमा देखिन थाल्दा यसले नयाँ समस्या ल्याएको छ।

सडक मर्मत कसले गर्ने?

चुहावट मर्मत गर्नका लागि कतिपय स्थानमा सडक खन्नुपर्ने भएकाले सडक विभागसँग केयुकेएलले स्वीकृति मागेको थियो। सडक विभागका अधिकारीहरुले भने सडक खनेसँगै त्यसलाइ मर्मत गर्नुपर्ने शर्त राखेका थिए। तर केयुकेएलले गरेको प्रस्तावमा सडक मर्मत गर्दै कालोपत्रे गरेर पहिलेकै अवस्थामा फर्काउने योजना नरहेपछि उक्त प्रस्ताव अस्वीकृत भएको छ। उनीहरुले सडक मर्मतका नगर्ने भए पनि त्यसका लागि बजेट दिए आफैं मर्मत गर्ने बताएका थिए।

विभिन्न चरणमा विभाग र केयुकेएलका बीचमा छलफल भए पनि सहमति हुन सकेको थिएन। सोही विषयमा मंगलबार खानेपानी मन्त्री मणिचन्द्र थापा र भौतिक पूर्वाधारमन्त्री वसन्त कुमार नेम्वाङबीच छलफल भएको थियो। उक्त छलफलपछि लिकेज भएका स्थानको पाइप मर्मत केयुकेएलले गर्ने र सडक मर्मत सडक विभागले गर्न सहमति भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए।

उनका अनुसार त्यसका लागि आवश्यक बजेट अर्थसँग माग्न केयुकेएलले सहयोग गर्नेछ। आगामी माघसम्म नियमित मर्मत हुनेछ। मासिक रूपमा लिकेज हुने ३ सय स्थानको सडक मर्मतका लागि २० देखि ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। औसतमा करिब २५ लाख रुपैयाँ खर्च भए एक वर्षमा ३ करोड रुपैयाँ खर्च हुनेछ।

मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको छ, जसको परीक्षण थाल्ने योजनामा आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) छ। विस्तारै नयाँ प्रणाली परीक्षण गर्दै जाने र नयाँ सिस्टममा पानी हाल्दै जाने योजनामा पीआइडी छ। पहिलो चरणमा बिछ्याइएको करिब १ हजार किलोमिटर वितरण प्रणाली परीक्षण गरेर वितरण गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ। परीक्षण हुन्जेल पुरानै प्रणालीबाट वितरण हुनेछ। नयाँ प्रणालीको परिक्षण गर्दा समेत धेरै स्थानमा चुहावट हुन सक्ने अनुमान गरिएको छ। परीक्षणका क्रममा समेत सडकहरु खन्नुपर्ने अवस्था आउन सक्नेछ। त्यस क्रममा समेत सडकमा थप क्षति पुग्ने सडक विभागका इन्जिनियरहरुको भनाइ छ।

केयुकेएलका अनुसार अहिले साढे ८ करोड लिटर पानी प्रणालीमा हालिएको छ। पहिलो चरणमा मेलम्ची खोलाको १७ करोड लिटर पानी वितरण हुनेछ। अहिले आधा मात्रै पानी प्रणालीमा हाल्दै समस्या देखिन थालेको छ। पूरा पानी हाल्दा त्यसको प्रेसरले सिस्टममा थप क्षति पुर्‍याउने अनुमान गरिएको छ। आयोजनाका अनुसार मेलम्चीको पानी १५ मिटर उचाइसम्म सिधै उक्लने गरि प्रेसरमा आउँछ। सोही कारण पुरानो पाइपलाइनले चाप थेग्न मुस्किल परेको केयुकेएलका इन्जिनियरहरुको भनाइ छ।

सडक विभागका इन्जिनियरहरु भने पानी सडकमा चुहिएर काठमाडौंका सडक दुरुस्त गरेर राख्नै मुस्किल हुने बताउँछन्। कालोपत्रे सडकमा पानी जम्नेबित्तिकै खाल्डो पर्न सुरु भइहाल्छ। केयुकेएलले भने लिकेज थाहा पाएको २४ घण्टाभित्र मर्मत गर्ने गरेको जनाएको छ। त्यसका लागि निर्माण कम्पनी तयार अवस्था राखिएको र सबै शाखा कार्यालयहरुमा र्‍यापिड रेस्पोन्स टिमसमेत रहेको केयुकेएलका प्रवक्ता प्रकाश राईले दाबी गरे। कतै लिकेज भए ‘केयुकेएल’ एप वा शाखा कार्यालयको फेसबुक पेजमा फोटो सहित जानकारी गराउन आग्रह गरिएको छ। तुरुन्तै रेस्पोन्स हुने राईको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell