PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आज आठौंपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण, 'जात्रापछि एम्बुलेन्सबाट निरन्तर सेवा'



आज आठौंपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण, 'जात्रापछि एम्बुलेन्सबाट निरन्तर सेवा'

हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट अर्थात वैशाख २ गते भक्तपुरको बोडेमा 'मे प्वा खनिउ जात्रा' (जिब्रो छेड्ने जात्रा) हुन्छ। गत वर्ष बुद्धकृष्ण बाग श्रेष्ठ आठौं पटक आफ्नो जिब्रो छेडाउन तयार थिए। तर कोरोनाले जात्रा रोकियो। पेशाले एम्बुलेन्स चालक उनी कोरोना संक्रमितलाई अस्पताल ल्याउनु पुर्‍याउने काममा सक्रिय भए।

लकडाउन सुरु भएसँगै एम्बुलेन्स नपाएको, चालक आउन नमानेको, विरामी लिन जाँदा भागेको जस्तो समाचारहरु आइरहेका थिए। भक्तपुर एम्बुलेन्स चालक संघको संरक्षक समितिको अध्यक्षसमेत रहेका श्रेष्ठलाई भने यी समाचारले दु:खी बनाएको थियो।

हामी रहे अर्को वर्ष जिब्रो छेडौंला नि! एम्बुलेन्सको स्ट्रेरिङ सम्हाल्दै बुद्धकृष्णले भने, 'अस्पताल जानु परे फोन गर्नुस्'

'अहिले देशको सेवा गर्ने बेला हो। ज्वरो आएको, रुखाखोकी लागेको, सिकिस्त बिरामीहरु बोक्न एम्बुलेन्स चालकहरु नमानेको सुन्दा दुख लाग्छ,' बुद्धकृष्णले भनेका थिए।

त्यसैले लकडाउन सुरु भएको केही समय पछाडी नै उनले घोषणा गरे, 'जिब्रो नछेड्ने - एम्बुलेन्स चलाउने।'

थिमिमा रहेको कोरिया मैत्री अस्पतालमा कार्यरत उनी दैनिक काममा लागे। कसैलाई कोरोनाको लक्षण देखिएमा र एम्बुलेन्स नआएमा आफूलाई सम्पर्क गर्न भन्दै उनले सामाजिक संजाल र संचारमाध्यमबाट आग्रह पनि गरेका थिए।

उनै श्रेष्ठ यो वर्ष भने गएको वर्ष पूरा हुन नसकेको भाका पूरा गर्दैछन्। आज उनी आठौंपटक जिब्रो छेडाउँदैछन्। त्यसका लागि उनी चैतको अन्तिम सातादेखि निराहार छन्। पानीबाहेक अन्न मुखमा हालेका छैनन्। त्यसो गरेमा जिब्रोमा स्वाद बस्दैन र जिब्रो नरम हुन्छ।

बोडेको लाकुछेंका नकर्मीहरु सयौं वर्षदेखि जात्राका लागि फलामे नटुचा (मुलु-सुइरो) बनाउँदै आइरहेका छन्। यो वर्षका लागि पनि ११ इन्चको नटुचा तयार अवस्थामा छ। हाल खाने तेलमा डुबाएर राखिएको छ फलामको नटुचा। आज बुद्ध कृष्णको जिब्रोमा यही नटुचा छेडिनेछ।

बोडेको जिब्रो छेड्ने जात्रा : सुइरो बनाउनेदेखि छेडाउने भाइ र घोच्ने दाइसम्म सबैको एउटै चिन्ता- हामीपछि को?

आज जिब्रो छेडाएपछि भने उनी फेरि अस्पतालको काममा फर्किनेछन्। संक्रमणको जोखिम अझै रहेको बताउने उनी अब डराएर होइन सचेत हुनुपर्ने बेला भएको बताउँछन्। संस्कृति संरक्षण र कोरोना नियन्त्रणलाई सँगसँगै लैजानुपर्ने मत राख्छन्।

'गत वर्ष कोरोनाका जिब्रो छेडाउन पाइएन। लकडाउनको अवधिभर एम्बुलेन्स चलाएँ। यसपटक आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैछु। एम्बुलेन्स चलाएर विरामीको सेवा पनि गरिरहेको छु' उनले भने।

बोडेमा जिब्रो छेड्ने जात्रा कहिलै रोकिएको थिएन। तर गत वर्ष कोरोनाका कारण जात्रा रोक्नुपर्ने बाध्यता आइपर्‍यो। यो वर्षपनि कोरोनाको जोखिम रहेपनि सावधानी अपनाउँदै जिब्रो छेड्ने जात्रा सम्पन्न गर्ने बताउछन् श्रेष्ठ। साथै सबैलाई सतर्क रहन पनि आग्रह गर्छन्। जोखिम बढ्दै गइरहेको फेरि पहिला जस्तै एम्बुलेन्सको समस्या आए आफूलाई सम्झना आग्रह समेत गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell