काठमाडौं : विभिन्न २३ राजनीतिक दलको मोर्चाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदमा अगाडि नबढाउन चेतावनी दिएको छ।
प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरुले एमसीसीलाई अगाडि बढाउन माग गरेसँगै २३ दलीय मोर्चाले विरोध गरेको हो। मोर्चाले देशको राजनीतिक संकटको मौका छोपेर संससदबाट एमसीसी पारित गराउन लागिएको भन्दै विरोध गरेको हो।
२३ राजनीतिक दलको मोर्चाका तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरुलेलले विज्ञप्ति जारी गर्दै संसदमा एमसीसी अघि नबढाउन चेतावनी दिएका छन्।
'देशमा संकटको स्थिति पैदा भएको मौका छोपी राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गराउन केही तत्वहरु पुनः सकृय भएका छन्। विगतमा पनि त्यस किसिमका प्रयास भएका थिए र हामीले त्यसका विरुद्ध गरेको संघर्षले सार्थक भूमिका खेलेको कुरा जगजाहेरै छ,' विज्ञप्तिमा भनिएको छ।
एमसीसी सम्झौता खारेज गर्नु समेत मोर्चाले माग गरेको छ। संसदको कार्यसूचिमा एमसीसी नराख्न २३ दलीय मोर्चाले माग गरेको हो। एमसीसीलाई संसदमा अगाडि बढाए सडक संघर्षमा उत्रने मोर्चाले चेतावनी दिएको छ। मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेकपा (माले), नेकपालगायतका दल आवद्ध छन्।