PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वास्थ्य मन्त्रालयको अपिल : विद्यालय चलाउ तर भिड नगराउ, शिक्षा मन्त्रालय भने छलफलमा



मुकुन्द घिमिरे

स्वास्थ्य मन्त्रालयको अपिल : विद्यालय चलाउ तर भिड नगराउ, शिक्षा मन्त्रालय भने छलफलमा

काठमाडौं : स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमणबाट जोगिन आग्रह गरेको छ। जसमा रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरिएको छ।

मन्त्रालयले कोभिड १९ का कारण १४ वटा जिल्लाहरुलाई अति प्रभावित भएको जनाएको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही,चितवन, बाँके, पर्सा, मोरङ लगायतका जिल्लाहरूमा भिडभाड हुने स्थानमा सुरक्षा अपनाउन अनुरोध गरिएको छ।

यी क्षेत्रहरुमा विद्यालय, रात्रिकालिन व्यवसायहरु लगायत भिडभाड हुने क्षेत्रमा सहभागी नहुन मन्त्रालयले अपिल गरेको हो। साथै जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउनु भूमिका बढाउन विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ।

विद्यालय चल्ने तर विद्यार्थी नजाने हो?

कोरोना संक्रमणको बेलायतको भेरियन्ट नेपालमा भेटिरहँदा जनस्वास्थ्यविद्हरुले कोरोनाले जोखिम बढ्न सक्ने भन्दै चेतावनी दिँदै आएका छन्। यस्तोमा पछिल्लो समय शिक्षासँग सरोकारवालाहरुले विद्यालय बन्द नगर्ने तर स्वास्थ्य मापदण्ड बढाएर लैजानुपर्ने तर्क गर्दै आएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने प्रभावित जिल्लाहरुमा विद्यार्थीलाई विद्यालय नपठाउने र अनलाइबाट पठनपाठन गराउनु पर्ने बताएका छन्।

'स्कुल कलेज अनलाइन गर्ने। अब अनलाइन गर्ने शिक्षकहरु स्कुल आएर गर्छन् कि घरबाट गर्छन उनीहरुको कुरो हो विद्यार्थी भने अनलाइनबाट पढ्ने हो' स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर शर्माले पहिलोपोस्टसँग भने।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पनि विद्यालयमा भिडभाड नगर्न भनिएको छ। तर विद्यालय संचालन नै नगर्न भने भनिएको छ।

यता, शिक्षा मन्त्रालयले भने प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने बारे छलफलमा छ। सरोकारवालाहरुले विद्यालय बन्द नगर्न आग्रह गरिरहेपनि संक्रमणको जोखिम विद्यालयमा बढ्ने र स्वास्थ्य मन्त्रालयले नै विद्यालयलाई प्रभावित क्षेत्र भन्दै सूचना निकालेपछि शिक्षा मन्त्रालय छलफलमा जुटेको हो।

' बन्द गर्ने अहिले नै निर्णय भइसकेको छैन। हामी छलफलमा छौं। भोलिसम्म निर्णय हुन्छ ' शिक्षा मन्त्रालयका एक अधिकारीले भने।

के छ सरोकारवालाको तर्क?

शिक्षा मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा उपस्थित सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर देशभरका विद्यालय एकसाथ बन्द नगर्न सुझाव दिएका थिए।

छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एकठाउँमा कोभिड संक्रमणको जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यवहारिक नहुने तर्क गर्दै जुन ठाउँमा प्रभाव परेको छ त्यहिको स्थानीय सरकारलाई बन्द गर्ने निर्णय गर्न दिनुपर्ने बताएका थिए।

एन प्याब्सनका महासचिव सुवास न्यौपानेले हल्लाको भरमा विद्यालय बन्द गर्न नहुने विचार राखेका थिए। जस्तो सुकै प्राकृतिक प्रकोपको अवस्थामा पनि बालबालिकाहरु शिक्षण सिकाईबाट बञ्चित हुन नहुने उनको तर्क थियो।

कोभिड–१९ संक्रमण उच्च भएको अवस्थामा राजनीतिक नेतृत्वहरुले जुलुस निकाल्दा कोभिड नलाग्ने तर स्वास्थ्य मापदण्ड अपनाई पढाई गर्दा विद्यालय बन्द गर्नुपर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने उनीहरुको तर्क थियो।

'स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालयले सावधानी अपनाएर पढाइ गर्दा बालबालिकालाई शिक्षण सिकाईबाट बञ्चित किन गर्नुपर्ने ? यो स्वीकार्न हामी तत्पर छैनौं' न्यौपानेले भनेका थिए।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्णबहादुर थापाले विद्यालय बन्द गर्ने हो भने बालबालिकाको सिकाई र सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताएका थिए।

‘अब विद्यालय बन्द गर्ने हो भने सिकाईको सुनिश्चितताको योजना के हो? को सँग बसेर प्लानिङ गर्ने हो,' उनको प्रश्‍न थियो, 'पहिलो सिकाइको सुनिश्चतता हो, दोस्रोकुरा फेरी बन्द गर्ने हो भने सुरक्षाको सुनिश्चितता हुनुपर्‍यो।’

पछिल्लो २४ घण्टामा देशभर ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बालबालिकामा समेत कोभिड १९ संक्रमण देखिएकोले विद्यालय बन्द गर्नुपर्ने माग जनस्वास्थ्यविदहरुले गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell