काठमाडौं : लामो समयदेखि बिना सम्झौता सञ्चालन भइरहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौं महानगरपालिकाले आज सिलबन्दी गरेको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि बिना सम्झौता सञ्चालन गरिरहेको र पटक-पटक ताकेता गर्दा पनि बेवास्था गरेपछि आज शिलबन्दी गरेको जानकारी दिए।
‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ’, ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौँ।’
काठमाडौं महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक-पटक ताकेता गर्दा पनि बेवास्था गरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिए। उनले काठमाडौं महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिए।
नगरप्रहरी प्रमुख धनपती सापकोटाले उनीहरुलाई पटक-पटक सूचना दिँदा पनि नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको जानकारी दिए। पसल सिल गर्ने क्रममा व्यापारीले बिना सूचना हटाएको भन्दै हो-हल्ला गरेका थिए। प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई समातेको थियो।
