काठमाडौं : भक्तपुरको सूर्यविनायकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। सूर्यविनायक नगरपालिका-८ सिपाडोल मुलबाटोस्थित कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा युवकको हत्या भएको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई प्रक्राउ समेत गरिसकेको छ। प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार स्थायी घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल मुलबाटोस्थित कविराज बस्नेतको जग्गामा गाई पालन गर्ने गोकुल बहादुर खुलालका छोरा २० वर्षीय आशिष खुलाललाई नियन्त्रणमा लिएको हो।
हत्या भएको सूचना पाउनासाथ नजिक गस्तीमा रहेको प्रहरी टोलीका साथै महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी नायव उपरीक्षक राजेश थापाको टोलीले घेराबन्दी गरी अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापा समेत घटनास्थलमा पुगी अनुसन्धान गर्दा टिनको टहराको भुईमा धारिलो हतियारले घाँटी, टाउको लगायतका स्थानमा काटेको अवस्थामा शव फेला परेको थियो। मृतक सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी वर्ष २० का ईश्वर राई भएको खुल्न आएको उनले बताए।
प्रारम्भिक अनुसन्धानबाट ईश्वर राईले आशिष खुलाललाई फोन गरी सिपाडोल आउने जानकारी दिए पछि राई, महोत्तरी घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिस योञ्जन र सुनिल बल सिपाडोल पुगी आशिष खुलाललाई भेटेको खुलेको छ। उनीहरु गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर कुराकानी गर्ने क्रममा झगडा हुँदा आशिष खुलालले कोठामा भएको खुकुरीले ईश्वरलाई प्रहार गर्न थाले पछि युनिस योञ्जन र सुनिल बल झ्यालबाट भाग्न सफल भएका थिए। सो क्रममा ईश्वरको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
घटना स्थलमा रगत लागेको खुकुरी फेला परेको छ। घटनास्थलबाट मुचुल्का उठाएर प्रहरीले थप अनुसन्धान शुरु गरेको छ।
