यूइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराति सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई, रोमाले आयाक्सलाई, आर्सनलले स्लाभिया प्राहलाई र भिल्लारियलले डाइनामो जाग्रेबलाई हराएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो।
म्यानचेस्टर युनाइटेडलाई रोमाको चुनौती
गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानडामाथि २-० गोल अन्तरले जित निकालेको थियो। पहिलो लेगमा पनि २-० ले नै ग्रानडामाथि जित निकालेको युनाइटेडले समग्रमा ४-० गोलअन्तरले जित निकाल्दै सेमिफाइनलमा इटालियन क्लब रोमासँगको भेट सुनिश्चित गरेको हो।
त्यस्तै गएराति नै भएको क्वाटरफाइनलको दोस्रो लेगमा रोमाले आयाक्ससँग १-१ को बराबरी खेलेको थियो। पहिलो लेगमा २-१ ले जित निकालेको रोमाले समग्रमा ३-२ गोलअन्तरले जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
युनाइटेड र रोमा २९ तारिखमा सेमिफाइनलको पहिलो लेगमा आमनेसामने हुनेछन्।
आर्सनललाई भिल्लारियलको चुनौती
युरोपा लेगको सेमिफाइनलमा प्रवेश गर्ने अर्का दुई टोली हुन् इङ्ग्लिस क्लब आर्सनल र स्पेनिस क्लब भिल्ला रियल। गएराति सम्पन्न दोस्रो लेगको खेलमा आर्सनलले स्लाभिया प्राहमाथि ४-० को फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको थियो। यसको पहिलो लेगमा १-१ को बराबरी खेलेको आर्सनलले समग्रमा ५-१ को जित निकाल्दै सेमिफाइनमा भिल्ला रियलसँगको भेट सुनिश्चित गरेको हो।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा भिल्ला रियलले डाइनामो जाग्रेबमाथि जित निकाल्यो। पहिलो लेगमा १-० को जित निकालेको भिल्ला रियलले गएरातिको दोस्रो लेगको खेलमा २-१ ले जित निकाल्दा समग्रमा ३-१ को जित निकाल्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो।
आर्सनल र भिल्ला रियल सेमिफाइनलको पहिलो लेगमा २९ तारिखमा भिड्ने छन्।