PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कर्णालीका मुख्यमन्त्रीले आज प्रदेशसभामा विश्वासको मत लिँदै



पी बी खड्का

कर्णालीका मुख्यमन्त्रीले आज प्रदेशसभामा विश्वासको मत लिँदै

सुर्खेत : नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली सरकार ढल्ने या कायम रहने छिनोफानो आज हुँदै छ।

नेकपा एमालेले सरकारलाई दिएको विस्वासको मत फिर्ता लिए पछि आज शुक्रवार मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिँदै छन्। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट भागबण्डाका आधारमा माओवादी केन्द्रको भागमा परेको कर्णलाी प्रदेशको मुख्यमन्त्री सरकार गठनसँगै धरापमा पर्दै आएको थियो। 

प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै माओवादी केन्द्र र एमालेको एकतालाई समेत सर्वोच्चले बदर गरेपछि कर्णालीको सरकार अल्पमतमा छ। शाहीको सरकारले विश्वासको मत नपाउने एमाले ढुक्क देखिए पनि  माओवादी केन्द्रले भने आफ्नो सरकार कायम हुने दाबी गरिरहेको छ।

एमालेका संसदीय दलका नेता यमप्रसाद कँडेलको नेतृत्वमा बसेको बैठकले  चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

एमालेको समर्थनविना अन्य दल एकजुट भए पनि कर्णालीमा सरकार गठन हुने भने सम्भावनै छैन। तर, पनि मुख्यमन्त्री शाहीले विश्वासको मत दिन सांसदहरुलाई सार्वजनिक अपिल गरिसकेको छ।

यसअघि मुख्यमन्त्रीलाई काँध दिईरहेको एमाले कै माधव नेपाल समूहले यसपटक पनि काँध दिने विश्वासमा छन् मुख्यमन्त्री शाही।

‘राजनीतिमा असम्भव भन्ने केही हुदैँन, मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन सम्पूर्ण माननीयज्यूहरुलाई अनुरोध गरिसक्नु भएको छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ’यसअघिदेखि नै एमालेकै एक पक्षले हाम्रो सरकारलाई साथ दिईरहेको अवस्था हो। विश्वासको मत दिने कुरामा पनि उहाँहरुले मुख्यमन्त्रीज्यूको पक्षमा मत दिनुहुन्न भन्ने हुदैँन।’

मुख्यमन्त्री शाही एमालेकै सांसदबाट फ्लोर क्रस भएर मत पाउने विश्वास लिएर सरकार कायम गर्ने दाउमा छन्। यता, नेकपा एमाले पनि आफ्नो एकल बहुमत हुदाँ हुदैँ सांसदलाई फकाउने काममा तल्लिन छ।

यसअघि मुख्यमन्त्री शाही विरुद्ध कँडेलकै नेतृत्वमा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। तर त्यतिवेला उनी सफल हुन सकेका थिएनन्। 

‘कांग्रेस र राप्रपाले सरकारलाई समर्थन गर्ने कुरामा यसअघिदेखि नै संसदमा मौन भएर प्रतिक्रिया नदिने गरेको अवस्था हो, अहिले पनि मुख्यमन्त्रीज्यूलाई मत दिनुहुन्छ भन्ने लाग्दैन,’ एमाले ओली समूहका कर्णाली प्रदेश सचिव धर्मराज रेग्मीले भने,‘पार्टीको ह्वीप नमानेर एमालेकै सांसदहरुले फ्लोर क्रस गर्नु भयो भने त कारवाही त भैहाल्छ नि।’

४० सदस्यीय संख्या रहेको प्रदेशसभामा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीको पद खारेज गरेपछि हाल ३९ सदस्य छन्। नेकपा एमालेका तर्फबाट सभामुखबाहेक १९ जना, माओवादी केन्द्रको १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। अहिले सरकार गठनका लागि २० सांसद आवश्यक पर्छ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेको अवस्थामा मुख्यमन्त्रीज्यूले नैतिकताको आधारमा राजीनामा दिईनुपर्थ्यो त्यो गर्नु भएन,’ एमालेका प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘कुनै पनि हालतमा अन्य कांग्रेस, राप्रपा साथमा लिएर पनि आवश्यक संख्या नपुग्ने देख्दा देख्दै पनि उहाँले (मुख्यमन्त्री) विश्वासको मत लिने कुरा गर्नुभयो, अब संसद नै टुंगो लगाउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell