जनकपुरधाम : प्रदेश २ सरकार गठन भएको ३ वर्षभन्दा बढी समय भएपनि नाम र राजधानीको विषयमा निर्क्यौल लगाउन नसकेको भन्दै कडा आलोचना हुँदै आएको छ। प्रदेश सरकारको यो विषयलाई लिएर आलोचना भइरहेको समयमा प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ।
प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेको हो। सो सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको छ। नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयले जनाएको छ।
यसअघि २०७६ चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो। प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो। तर, नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरुमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत आउन सकेको थिएन।
यसअघिको नाम र राजधानीका लागि तत्कालिन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो। नेपाली कांग्रेसले मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने काँग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए। तत्कालिन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको थियो।
