PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुन तस्करीको नेटवर्कभित्र वैदेशिक रोजगारमा गएका युवा



सविन ढकाल

सुन तस्करीको नेटवर्कभित्र वैदेशिक रोजगारमा गएका युवा

काठमाडौं : गत मङ्गलवार राति १० बजेतिर धनुषाका प्रकाश महरा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। वैदेशिक रोजगारीको लागि दुबई पुगेका उनी लामो समयपछि घर फर्किँदै थिए। विमानस्थलबाट बाहिरिएलगत्तै घर पुग्ने हतारो थियो उनमा।

तर, विमानस्थलको सुरक्षा जाँचमा निकै समय लाग्यो। एक्स-रे मेसिनले उनको झोलामा शङ्कास्पद बस्तु भएको सङ्केत गरिरहेको थियो। विमानस्थलमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले उनको झोला खोलेर एक एक गरी सबै खोतले। तर, भेटिएन केही पनि। प्रविधिलाई विश्वास नगरी प्रहरीले उनलाई छोड्ने कुरा पनि भएन। किनकि एक्स-रे मेसिनले झुटो सङ्केत किन गर्थ्यो।

उनको साथमा ५० ग्राम सुन थियो। त्यो पहिले नै प्रहरीले नियन्त्रणमा लियो। तर, पनि मेसिनले फेरि सङ्केत गरिरह्यो। अब गर्ने के? प्रहरी आफैँ रनभुल्ल अवस्थामा पुग्यो। मेसिनको सङ्केत उनले ल्याएको राइसकुकरमा थियो। तर, राइसकुकुर हेर्दा केही पनि देखिएन। प्रहरीले राइसकुकुरको भित्री भागसमेत खोलेर हेर्ने निर्णय गर्‍यो। त्यसको तल्लो भागमा भेटियो सुन। ८ सय ८४ ग्राम सुन राइसकुकरमा फेला परेको त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोलाले बताए।

'सुरुमा त हामीलाई नै अचम्म पारेको थियो। पछि राइसकुकरमा खोलेर हेर्दा सुन भेटियो,' एसएसपी बास्तोलाले भने।

अहिलेको बजार मूल्य अनुसार महराले लुकाएर ल्याएको सुनको मूल्य ६० लाख रुपैयाँ भन्दा बढी पर्न आउँछ। उनले विमानस्थलमा खटिएका सुरक्षाकर्मीलाई नै चक्मा दिने गरी राइस कुकरभित्र सुन हालेर ल्याए। राइस कुकुरभित्र राखिएको सुन हेर्दा आफैँले नभएर कुनै पनि कम्पनीमा नै फिटिङ् गरेको जस्तो देखिएको छ। अनि कसको भन्ने त सुन?

महराले सुन आफ्नो नभएको र यसबारेमा थाहा नभएको बताएका छन्। दुबईमा एक जनाले आफ्नो सामान नेपाल लगिदिन र विमानस्थलमा पुगेपछि सामान दिन भन्दै त्यसबापत केही रकम समेत दिएको बयान दिएका छन्। तर, अर्को व्यक्ति पत्ता नलाग्दासम्म उनी कानुनको नजरबाट उम्किन भने पाउने छैनन्।

'केही रकम दिएर सामान लग्दिनु भन्दै पठाएको बुझिन्छ। तर, कसलाई सामान दिने भन्ने केही पनि खुल्दैन,' एसएसपी बास्तोलाले भने।

वैदेशिक रोजगारमा गएका युवा तस्करीको पासोमा

सरकारले विमानस्थल हुँदै हुने सुन तस्करीमा कडाइ गरेको दावी गरे पनि तस्करले भने विभिन्न उपायबाट आँखा छलिरहेका छन्। प्रहरीले विमानस्थलबाट सुनसहित समातेका व्यक्तिहरुले अपनाएको शैली हेर्दा प्रहरी नै अचम्ममा पर्ने गर्छ। राइसकुकर मात्र होइन, मलद्वारसम्म सुन राखेर ल्याउनेहरु पनि छन्। त्यसो त दुबईबाट आउने विद्युतीय देखि अन्य सामान नै सुनको बनाएर ल्याउनेहरु पनि भेटिएका छन्।

यसरी सानो परिणाममा सुन ल्याउनेहरूमा सुन तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई पासोमा पार्ने गरेका देखिन्छ। केही रकम र टिकटको लोभ देखाएर विदेशबाट सामान भन्दै उनीहरूले सुन समेत पठाउने गरेको देखिन्छ। जसको पछिल्लो उदाहरण बने प्रकाश महरा।

'अहिलेसम्म १ केजी माथि नाघेको छैन। धेरै जसो वैदेशिक रोजगारमा जानेहरू नै छन् समातिनेमा। कोही जानेर त कोही नजानेर तस्करीमा जोडिएका छन्,' त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता दयानन्द केसीले भने।

५० ग्राम सुन विदेशबाट ल्याएर नेपालमा बेच्दा २० हजारदेखि ३० हजार रुपैयाँसम्म फाइदा हुने गरेको छ। त्यसैले विदेशबाट आउनेहरूलाई तस्करहरुले भरिया बनाउने गरेको देखिन्छ।

गएको चैत महिनामा मात्र विमानस्थल प्रहरीले ६ वटा यस्तै घटनामा केही मानिसलाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट यसरी नै विदेशबाट ल्याएको सानो परिमाणको अवैध सुन भेटिएको हो। चैत २ गते १ सय ५० ग्राम सुन बरामद गर्‍यो प्रहरीले। त्यसपछि पनि चैत ४ गते एक सय ग्राम फेला पार्‍यो। चैत १० गते ४ सय ग्राम सुन यसरी नै विदेशबाट आउने युवकको साथबाट भेटियो।

यो श्रृंखला चैत महिना भरि नै चलिरहेको थियो। सबैभन्दा धेरै यो महिना भेटिएको सुन भने प्रकाश महराले ल्याएको नै हो। चैत १८ गते २ सय ग्राम सुन बरामद गरेको हो। अहिले बजारमा १ ग्राम सुनको मूल्य ७ हजार देखि साढे ७ हजार रुपैयाँसम्म पर्न आउँछ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सामान्यतया हाल बजारमा दैनिक २५ किलोसम्म सुन बिक्री हुँदै आएको छ। सिजनको समयमा ४० देखि ५० किलो सुनको बिक्री हुने सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। माग र आपूर्तिमा सन्तुलन नहुँदा पनि सुन तस्करी हुने गरेको छ। विदेशबाट अवैध रूपमा भित्रिएको सुन नेपाल हुँदै भारतसम्म पुग्ने गरेको पनि देखिन्छ

सरकारले कोभिड १९ सङ्क्रमणअघि दैनिक सुनको आयत कोटा १० केजी निर्धारण गरेको थियो। तर, व्यवसायीहरूको दबाबपछि यसलाई बढाएर २० केजी पुर्‍याइएको छ।

हुन त बजारमा माग र आपूर्ति बिच तालमेल भए पनि तस्करी भने रोकिन्छ भन्ने होइन। भन्सार छलेर विदेशबाट सुन ल्याउँदा केजीमा लाखौं फाइदा हुने भएपछि तस्करहरू सक्रिय देखिएका हुन्। प्रहरीको तथ्याङ्क अनुसार नै गत असोज महिना देखि चैतसम्म १७ वटा घटनामा प्रहरीले विमानस्थल हुँदै भित्रिँदै गरेको सुन बरामद गरेको छ। असोज महिनाको २५ गते प्रहरीले १ सय ५० ग्राम सुन बरामद गरेको थियो। गएको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका युवाहरुबाट अवैध रुपमा ल्याएको सुन बरामद गर्ने सङ्ख्या बढी देखिएको हो। त्यसो त आर्थिक वर्ष २०७५/७६ मा प्रहरी रेकर्डमा ९२ वटा घटनामा २७ हजार ग्राम सुन विमानस्थलबाट बरामद गरिएको देखिन्छ। तर, समग्र रुपमा चालु आर्थिक वर्षमा भित्रिने अवैध सुनको परिमाण भने कम छ। किनकि लामो समय लकडाउन हुँदा हवाई सेवा ठप्प रह्यो।  

यस बिचमा प्रहरीले विमानस्थलबाट बरामद गर्ने अवैध रूपमा भित्रिने सुनको परिमाण १ केजीभन्दा मुनिकै देखिन्छ। ठूलो परिमाणको सुन वैदेशिक रोजगारीमा गएकाहरुले ल्याउने नगरेको पनि यसले पुष्टि गरेको छ। त्यसो त प्रहरीले विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन एक पटक प्रहरीले नसमातेको होइन। अर्को ३३ केजीकै सुन प्रकरणमा सनम शाक्यको हत्या हुँदा समेत प्रहरीले तस्करका रुपमा अभियुक्त त फेला पार्‍यो तर सुन भने  जफत गर्न सकेन। गृहमन्त्री रामबहादुर थापाले नै विमानस्थलबाट टनका टन सुन अवैध तरिकाले बाहिरिएको अभिव्यक्ति दिनुले पनि तस्करीको जालो सानो छैन भन्ने बुझाउँछ।

फेरिँदै तस्करीको शैली

राइसकुकरको तल्लो भागमा सुन भेटिएपछि प्रहरीले महतलाई यो सुन कसको भनेर सोधेको थियो। तर, उनले सुन मालिक खुलाउन सकेनन्। अनि विदेशबाट सामान पठाएको भए कसलाई दिने? प्रहरीले सोध्यो। त्यसको जवाफ पनि उनले दिएनन्।

'विमानस्थल बाहिर तिमीलाई कुरेर बसेको हुन्छ। तिम्रो फोटो देखाउँछ। उसलाई नै दिनु,' पठाउनेको भनाइ उदृत गर्दै महतले प्रहरीलाई भनेका छन्। बाहिर सामान लिन बसेको मानिसको नम्बर त के अनुहार भएको फोटो समेत महतसँग थिएन। पहिलेपहिले यस्ता सुन तस्करले विदेशबाट यसरी सुन वा सामान पठाउँदा ह्वाटस एप प्रयोग गर्थे।

उनीहरूले यता पाउने मानिस र सुन ल्याउनेसँग कनेक्सन गर्थे। तर, प्रहरीले पछिल्लो समय धमाधम तस्करहरु समात्न थालेपछि ह्वाट्स एपको शैली हट्यो। ह्वाट्स एपमा भएको मानिसको फोटो हेरेर प्रहरीले विमानस्थल पार्किङबाटै मानिसहरु नियन्त्रणमा लिन थालेपछि यो तरिका तस्करका लागि असुरक्षित बन्यो र उनीहरुले नयाँ नया शैली समात्न थाले।

'ह्वाटस् एपको तरिका केही फेरिएको छ। विदेशबाट सुन ल्याउने मानिसलाई उनीहरूले सामान रिसिभरको नम्बर र जानकारी नदिने गरेको देखिन्छ,' एसएसपी बास्तोलाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell