PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कर्णालीको राजनीति : नेता कँडेलको मुख्यमन्त्री बन्ने चाहनामा ‘ब्रेक’, सरकार पुनर्गठनको तयारीमा शाही



पी बी खड्का

कर्णालीको राजनीति : नेता कँडेलको मुख्यमन्त्री बन्ने चाहनामा ‘ब्रेक’,  सरकार पुनर्गठनको तयारीमा शाही

सुर्खेत : नेकपा एमालेका सांसदले पार्टीको निर्देशन विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मतको पक्षमा मत दिएपछि फेरि नेपाली राजनीति तरंगित बनेको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि एमालेकै नेता नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार कायम रहेको हो।

प्रदेशसभामा भएको मत विभाजनमा २२ मत पाएका मुख्यमन्त्री शाहीको विपक्षमा १५ मत खसेको थियो।

शाहीले एमालेकै नेपाल पक्षका चार, नेपाली कांग्रेसका ६ र माओवादीको १२ गरी २२ मत पाएका हुन्।

मुख्यमन्त्री शाहीको पक्षमा खसेको मत प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुखले घोषणा गरे।

नेकपा एमालेमा प्रवेश गरेका सांसदको पद खारेज गरेपछि ३९ सदस्यीय रहेको प्रदेशसभामा सभामुख र राप्रपाका एक सांसद मतदानमा सहभागी बनेनन्। संसद बैठक हुनुअघि एमालेको संसदीय दलको बैठकले सांसदलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। यद्यपि, आफ्नै पार्टीका सांसद विपक्षमा उभिएपछि अल्मतमा परेको छ एमाले। प्रदेशसभामा भएको हालको संख्यामा बहुमतमा लागि २० जना सांसद आवश्यक पर्छ।

ह्विप उल्लंघन गर्ने सांसद कारवाहीमा

नेकपा एमालेले जारी गरेको ह्विपलाई उल्लंघन गरेर फ्लोर क्रस गरेपछि उनीहरुलाई कारवाही गरेको छ।

संसदीय दलको बैठकले प्रकाश ज्वाला, अमर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीबाटै निष्कासन गर्न केन्द्रमा सिफारिस गरेको छ। प्रदेशसभा बैठक सकिएलगत्तै दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारवाहीका लागि सिफारिस गरेको हो।

त्यस्तै, सभामुखले निर्धारित गरेको समयसीमाभित्र मत सच्याएकी सांसद देवी ओलीलाई समेत २४ घण्टे स्पस्टीकरण सोध्ने निर्णय गरिएको सांसद दल रावलले जनाए।

सरकार पुनर्गठन हुने

मुख्यमन्त्री शाहीले जतिसक्यो छिटो मन्त्रिमण्डल पुर्नगठन गर्ने मुडमा छन्। सत्ता संकटका बेला आफ्नो पक्षमा उभिएका सांसदलाई साथमा लिएर मन्त्रिमण्डल गठन हुने माओवादी केन्द्रका एक सांसदले जानकारी दिए।

‘आफुलाई अप्ठ्यारोको बेला जसले सहयोग गर्छ, उसलाई साथमा लिने कुरा त स्वभाविक नै हो,’ ति सांसदले भने, ‘अबको एक साताभित्र सरकार पुनर्गठन हुन्छ, अहिले नै कसलाई के (मन्त्रालय) दिने भन्ने विषय छलफलको क्रममा छ।’

नेपाली कांग्रेस, एमालेबाट फ्लोर क्रस गरेका सांसदलाई समेत समेटेर सरकार बनाउने तयारी मुख्यमन्त्री शाहीले गरेका छन्।

नेता कँडेलको मुख्यमन्त्री बन्ने चाहनामा ‘ब्रेक’

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको मुख्यमन्त्री बन्ने धोको यसपटक पनि असफल बनेको छ।

यसअघि तत्कालिन पार्टी एउटै हुदाँ समेत दुई/दुई पटक मुख्यमन्त्री शाहीलाई हटाउने कसरत गरेका कँडेल सर्वोच्चको फैसलापछि कर्णालीमा एमाले ठुलो दल देखिएपछि मुख्यमन्त्री बन्न हौसिएका उनलाई आफ्नै पार्टीका सांसद तगारो बने।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीको विश्वासको मतका पक्षमा एमालेकै चार सांसद अर्थात नेता कँडेलको विपक्षमा उभिएपछि मुख्यमन्त्री बन्ने चाहानामा ‘ब्रेक’ लागेको छ।

दलका नेता कँडेल नेतृत्वको दलको बैठकले चेत ५ गतेदेखि लागु हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रति एमालेकै नेपाल पक्षीय ज्वालाले चर्को विरोध जनाएका थिए। उनै असन्तुष्ट पक्षलाई रिझाउन नसक्दा बहुमतमा रहेको आफ्नै दल अल्पमतमा परेपछि यसपटक पनि मुख्यमन्त्री बन्ने बाटो बन्द भएको हो।

एमालेभित्रको ओली समूह अर्थात प्रदेशमा नेता कँडेल पक्षले गत असोजमा मुख्यमन्त्री शाहीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा समेत नेता कँडेल असफल बनेका थिए।

नेपाल समूह अर्थात प्रदेशमा ज्वाला पक्षलाई हातमा लिन नसक्नु अर्थात केन्द्रमा ओली र नेपालवीच उत्पन्न  विवादको असर कर्णालीमा देखा परिरहेको छ।

यसअघि सरकारबाट बाहिरिदै गर्दा ज्वालाले भनेका थिए, ‘हाम्रा निश्चित माग, अडान छन्, आफ्नै दलमा गएर छलफल बहस गर्छौं।’ दलभित्र सहमति नजुटेकै कारण नेता कँडेलको विपक्षमा उभिको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell