काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कडा शब्दमा आक्रोश ब्यक्त गरेका छन्।
सभामुखले संसदमा अवरोध गरेको आरोपसहित ओलीलै बैठकमा धारणा राखेका थिए। बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखप्रति ओलीले आक्रोश ब्यक्त गरेको जानकारी दिए।
'प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे भन्नुभयो। सभामुख अराजक र अनैतिक बन्नुभयो भन्नुभएको छ,' उनले भने।
प्रतिनिधिसभा विघटनपछि सभामुखको भुमिकालाई लिएर प्रधानमन्त्रीले सार्वजनिक रुपमै आक्रोश ब्यक्त गर्न थालेका छन्। ओलीले सभामुख संसदको भन्दा पार्टीको भएको भन्दै यसअघि पनि आक्रोश ब्यक्त गरेका थिए।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबिच लामो समय संवाद समेत भएको थिएन। सभामुख सापकोटाको आफैँले पहल लिएपछि ओलीले उनीसँग कुराकानी गरेका थिए। उक्त भेटपछि पनि सभामुख र ओलीको तिक्तता कायमै रहेको देखिएको छ।
ओलीले बालुवाटारमा बोलाएको बैठक सरकारबिरुद्ध मोर्चाबन्दीमा लागेका नेताहरुले भने बहिष्कार गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टी जसपाका नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले बैठक बहिष्कार गरेका छन्। यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,जसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बैठकमा सहभागी भए।
