PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जीतपुरसिमरा गोल्डकप: हेटौंडा क्वाटरफाइनलमा



पहिलोपोस्ट

जीतपुरसिमरा गोल्डकप: हेटौंडा क्वाटरफाइनलमा

वीरगंज: सुदुरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय युथ क्लब हेटौंडा विश्वकर्मा सिमेन्ट ११औं जीतपुरसिमरा गोल्डकपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।

सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २-०को जित निकाल्दै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ हेटौंडाले क्वाटरफाइनलमा प्रवेश गरेको हो।

हेटौंडाको जितमा नवराज गुरुङ र विकास लामाले समान एक-एक गोल गरे। खेलको १६ औं मिनटमा नवराजको गोलबाट अग्रता लिएको हेटौंडा विरुद्ध खेलमा फर्कन संघर्ष गरेको सुदुरपश्चिमले केही राम्रा अवसर बनाएको थियो। यद्यपि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो।

मध्यम खेल प्रदर्शन गरेको हेटौंडाले ७५ औँ मिनेटमा विकास लामाको गोलबाट अग्रता दोव्वर पार्यो। सुदुरपश्चिमका सुनील धामीले हेटौंडाका सन्तबहादुर गुरुङलाई लडाएपछि पाएको फ्रिकिक बललाई विकासले गोलमा परिणत गरे। करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिकलाई विकासले सिधै गोलमा परिणत गरेका थिए।

सुदुरपश्चिमले खेलमा केहि आकर्षक अवसर बनाए पनि गोल गर्न सकेन। खेलको १८ औं मिनटमा विनोद केसीले डिबक्स भित्रबाट गरेको सशक्त प्रहार हेटौंडाका गोल रक्षक अशोक बरालले बचाउ गरे। खेलको ३६औं मिनेटमा सुदुरपश्चिमले बराबरी गोल गर्ने अर्को अवसर गुमायो। सुनिल धामीको क्रसमा शक्ति राईले डिबक्स बाहिरबाट हानेको प्रहार हेटौंडाका गोलरक्षकले बचाए। खेलको ८८औं मिनटमा सुदुरपश्चिमका विनोद केसीको क्रसबल शक्ति राईले डिबक्स भित्र सम्हाल्न नसक्दा अन्तिम समयमा गोल गर्ने अवसर चुक्यो।

खेलको म्यान अफ दि म्याच हेटौंडाका नवराज गुरुङ घोषित भए। उनले पाँच हजार नगद प्राप्त गरे। प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिवार हिमालयन शेर्पा क्लब र आयोजक नवजनजागृती सिमरा भिड्दैछन्। हिमालयन शेर्पाले सिधै क्वाटरफाइनल खेल्दैछ भने आयोजकले उद्घाटन खेलमा मकवानपुरको वागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell