काठमाडौं : आजबाट सुरु भएको त्रिदेशीय टी २० सिरिजको पहिलो खेलमा नेदरल्याण्डसले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्डसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको हो।
सुरुवाती ब्याटिङमा उत्रिएका नेदरल्याण्डसका म्याक्स वो’डोउडलाई १.६ ओभरमा सन्दीप लामिछानेले आउट गराए भने २.४ ओभरमा सोमपाल कामीले बेन कुपरलाई एलबीडब्लु आउट गराउँदा नेदरल्याण्डस् सुरुमा दवाबमा आएको थियो। यद्यपि, नेदरल्याण्ड्सको ब्याटिङ स्कोर एडवार्डस र बस डे लीडेले सम्हाल्दै ६१ रनको साझेदारी गरे। एडवार्डस ३० रन बनाउँदै शाहब आलमको बलमा आरिफ शेखबाट क्याच आउट भए। त्यस्तै ४१ रन बनाएका लीडे सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए।
त्यस्तै, नेदरल्याण्डस् का कप्तान पिटर सेलरले अभिजित २२ रन बनाउँदा एन्टोनियस स्टालले २० रन बनाए।
मैदान परिसरमा दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो। त्यहाँ उपस्थित दर्शकहरुले ‘वी मिस यू पारस दाइ’ लेखेका प्लेकार्ड बोकेर हुटिङ गरेका थिए। पारस खड्काले चोटका कारण यो सिरिज गुमाएका छन्।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
