काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७६८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ५ हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा ७६८ जनाको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २२६ जना भने संक्रमण मुक्त भएका छन्।
यस्तै, ६७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा पनि कोभिड १९ संक्रमण देखिएको छ।
यससँगै २ लाख ८३ हजार ६५८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। हाल देशभर ५ हजार ५४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
यता, पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म ३ हजार ७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ।
११ प्रतिशत बढी १९ वर्ष मुनिका
पछिल्लो २४ आरटी-पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएका ७६८ जना मध्ये ११.६ प्रतिशत १९ वर्ष मुनिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
जस मध्ये ९ वर्ष मुनिका २.२ प्रतिशत अर्थात १७ जना छन् भने १० देखि १९ वर्ष सम्मका ९.४ प्रतिशत अर्था ७२ जना छन्।
सबै भन्दा बढी संक्रमित ३० वर्ष देखि ३९ वर्ष उमेर समूहका १८५ जना छन्। २० देखि १९ वर्ष उमेर समूहका १७५ जनामा संक्रमण पुष्टि भएको छ। ४० देखि ४९ वर्ष उमेर समूहका १३६ र ५० देखि ५९ वर्ष उमेर समूहका १०० जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै ६० देखि ६९ वर्ष उमेर समूहका ४९, ७० देखि ७९ उमेर समूहका २९ र ८० वर्ष माथिका ४ जनामा संक्रमण पुष्टि भएको छ। एक जनाको उमेर नखुलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
भारतबाट आएका ७५ जना संक्रमित
यसैबिच पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार भारतबाट नेपाल प्रवेश गरेका ७५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। नेपाल प्रवेश विन्दुमा स्थापना गरिएका ९ वटा हेल्थ डेस्कबाट गरिएको ६७१ जनाको एन्टिजिन परीक्षणमा ७५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी कञ्चनपुरबाट प्रवेश गरेकामा संक्रमण देखिएको छ। त्रिनरगर हेल्थ डेस्क कञ्चनपुरमा गरिएको परीक्षणमा ५९, गड्डाचौकी हेल्थ डेस्कमा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बेलहिया नाकाबाट रुपन्देहीमा प्रवेश गरेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
