PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बैशाखमै रेल गुडाउने इच्छा छ, जनशक्ति व्यवस्थापनको अन्तिम तयारीमा छौँ : यातायातमन्त्री नेम्वाङ



पहिलोपोस्ट

बैशाखमै रेल गुडाउने इच्छा छ, जनशक्ति व्यवस्थापनको अन्तिम तयारीमा छौँ : यातायातमन्त्री नेम्वाङ

जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बैशाख महिनामै रेल गुडाउने सरकारको इच्छा रहेपनि गुड्ने मिति ठ्याक्कै अझै भन्न नसकिने बताएका छन्। जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री नेम्वाङले नेपाली जनताको चाहना अनुरुप ठ्याक्कै मिति भन्न नसकिएपनि नेपाल रेल्वे चाँडै सञ्चालनमा आउने बताएका छन्।

रेल सञ्चालनका लागि सम्पूर्ण तैयारी पूरा भइसकेपनि पछिल्ला वर्ष कोरोना महामारीका कारण रेल सञ्चालनमा आउन नसकेको बताउँदै मन्त्री नेम्वाङले भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल चाँडै नै सञ्चालनमा ल्याउने योजना रहेको बताए।

‘हामीले छिट्टै ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ तर अझै ठ्याक्कै यहि मितिमा गुड्ने भन्न सकिने अवस्था अझै छैन’, मन्त्री नेम्वाङले भने, ‘अहिले नै मिति भन्न नसकिएपनि हाम्रो ध्येय बैशाख महिना भित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएका छौँ।’

‘जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल लिक निर्माण कम्पनीले हाम्रो जिम्मा लगाइसकेको छ, रेल सेट पनि गत असोजमै ल्याइसकेका छौँ’, उनले भने, ‘अब जनशक्ति व्यवस्थापनको अन्तिम तयारीमा छौँ।’

रेल सञ्चालनमा ल्याउनका लागि कर्मचारी भर्ना गर्न विज्ञापन गरेपनि लोकसेवा आयोगले प्रकृया अगाडि बढाउन नसक्दा जनशक्ति पूर्ति गर्न नसकिएको उनको भनाइ थियो। रेल चलाउने योजना सरकारको यसअघि नै रहेपनि लकडाउन र कर्मचारी अभावका कारण चल्न नसेकेको भन्दै मन्त्री नेम्वाङले ति सबै कुराहरु अब व्यवस्थापन भइसकेकोले चाँडै रेल गुड्ने कुरामाथि विश्वास गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।

उनले भने, ‘रेल छिटो चलाउनुपर्ने भएकोले चालक बाहेकका कर्मचारीहरु जनकपुरधाम आइसकेका छन्। उनीहरुलाई दक्ष बनाउन दुई÷चार दिनदेखि तालिम समेत सञ्चालन भइरहेको छ।’

उनले रेल चलाउने चालक भारतबाट ल्याएर सञ्चालनमा ल्याउने बताए। कोरोनाले फेरी कठिनाई उत्पन्न गरेन भने चाँडोभन्दा चाँडो रेल सञ्चालन गर्न तयार रहेको उनले दावी गरे।

चाँडै नै यो रेल लिक महोत्तरीको बर्दिवाससम्म जोड्ने र पूर्व पश्चिम विद्युत्तिय रेलमार्गका लागि त्यहाँ रेल्वे सबस्टेशन निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

उनले भने, ‘विद्युत्तिय रेलमार्गका लागि बर्दिवासमा सबस्टेशन बनाउने छौँ, यद्यपि जग्गा अधिग्रहणमा समस्या देखिएकाले काम अगाडि बढाउन सकिएको छैन।’

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell