जनकपुरधाम : प्रदेश नम्बर २ मा प्रेस संगठन नेपालबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएकाहरुलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ। जनकपुरधाममा पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका प्रसाद यादवले महासंघको निर्वाचनमा निर्वाचित भएकाहरुलाई शुभकामना तथा सम्मान गर्दै प्रतिगमनविरुद्ध कलम चलाउनेहरुको जित भएको बताएका छन्।
नेकपा माओवादी केन्द्र धनुषाले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री यादवले प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा अग्रगमनकारी पक्षधर पत्रकारले निर्वाचनमा विजयी भएर मुलुकलाई अग्रगमनका लागि अघि बढ्न र यसका लागि ओलीको तानाशाहविरुद्ध अघि बढ्न आह्वान गरेको टिप्पणी गरे।
‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार दुई तिहाई भन्दा बढी मत हुँदा हुँदै आफ्नै खुट्टामा बञ्चरो हानेर शक्तिशाली फासिस्ट शैली अपनाए र बनेको घर समेत भत्काए’, यादवले भने, ‘यो फासिज्म ओलीविरुद्धको आन्दोलनमा पत्रकारलाई समेत आफ्नो कलमले अघि बढ्न र सही गलत छुट्याउनु आजको आवश्यक छ।’
उनले वर्तमान अवस्थामा ओली सरकारको विरोध गर्दागर्दै राजनीतिक दलले आफ्नो एजेण्डा समेत बिर्सिन लागेकाले ओलीलाई गाली गर्नु नै जित नभएकाले अबको यात्रा समाजवाद तर्फको रहेको बताए। उनले समाजवादका लागि आन्दोलनको आवश्यकता रहेकाले यसतर्फ समेत राजनीतिक दलको ध्यान जानु जरुरी रहेको बताए।
