PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

धनुषामा टिपर र बस एकापसमा ठोक्किँदा १७ जना घाइते, एक जनाको अवस्था गम्भीर



पहिलोपोस्ट

धनुषामा टिपर र बस एकापसमा ठोक्किँदा १७ जना घाइते, एक जनाको अवस्था गम्भीर

जनकपुरधाम : धनुषामा टिपर र बस एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। शनिवार दिउँसो करिब साढे ३ बजे धनुषाको मिथिला नगरपालिका-९ स्थित पूर्व-पश्चिम राजमार्गमा टिपर र बस एक आपसमा जुध्दा बसमा सवार ३० मध्ये १७ जना घाइते भएका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ०६९० नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको को १ ख ६६९१ नम्बरको बस एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। घाइतेमध्ये बसका चालक काठमाडौं महानगरपालिका बस्ने अन्दाजी ४२ वर्षीय केशव संग्रौलाको दुवै खुट्टा र हातमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको डीएसपी मिश्रले बताए।

दुर्घटनामा परी पर्साको रानीघाट-८ बस्ने ४० वर्षीय नन्दु बैठा, मोरङको विराटनगर महानगरपालिका-४ बस्ने ४५ वर्षीय बद्री भुजेल, सप्तरीको हरिपुर चितामन-७ बस्ने ३० वर्षीया आशा देवी चौधरी, सप्तरीकै कञ्चनपुर-७ बस्ने ४० वर्षीय महिनारायण पण्डित, सर्लाहीको वाग्मती नगरपालिका-८ बस्ने १३ वर्षीया पर्वता ठकुरी, सर्लाहीको हरिपुर नगरपालिका-१ बस्ने ४८ वर्षीया यम कुमारी खडका, सर्लाहीको हरिवन नगरपालिका-२ बस्ने रञ्जु महराका ५ वर्षीय छोरा सुजित महरा, ७ वर्षीय छोरा अभिषेक महरा घाइते भएका छन्।

यसैगरी, सर्लाहीको वाग्मती नगरपालिका-४ बस्ने ४० वर्षीया राम प्यारी देवी महतो, सर्लाहीको ईश्वरपुर नगरपालिका-५ बस्ने सती देवी महतोकी ९ वर्षीया छोरी सोनु कुमारी महतो, पर्साको वीरगंज महानगरपालिका-१४ बस्ने ३७ वर्षीया अस्मिता पटेल, सोही ठाउँ बस्ने १४ वर्षीया सम्झना पटेल, १० वर्षीय आयुष पटेल, ९ वर्षीय अंश पटेल र १४ वर्षीय रितेश पटेल तथा सिरहाको गोलबजार नगरपालिका बस्ने १२ वर्षीया रुपा शाही ठकुरी पनि घाइते भएका छन्।

घाइतेहरुको मोडेल अस्पताल लालगढमा उपचार भइरहेको र टिपरका चालक फरार रहेकोले उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell