PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एमाले मकवानपुरमा विवाद : ओली पक्षका अध्यक्षले नेपाल पक्षका अध्यक्षलाई सोधे स्पष्टीकरण



निशा गुरुङ

एमाले मकवानपुरमा विवाद : ओली पक्षका अध्यक्षले नेपाल पक्षका अध्यक्षलाई सोधे स्पष्टीकरण

हेटौँडा : वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा एमाले मकवानपुरकी माधव नेपाल पक्षकी अध्यक्ष मुनु सिग्देललाई पार्टीको हितविपरित काम गरेको भन्दै एमाले मकवानपुरले स्पष्टीकरण सोधेको छ। आफ्नै नेतृत्वको सरकारको विरोधमा गतिविधि गरेको, आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पार्टीको झण्डाको दुरुपयोग गर्दै गुटगत गतिविधि गरेको, एमालेको नाममा रहेको ९ लाख ३५ हजार रुपैयाँ झिकेर आफूखुसी खर्च गरेको भन्दै सिग्देललाई स्पष्टीकरण सोधिएको हो।

पत्रमा सिग्देललाई सोधिएको छ, ‘तपाईलाई साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोपको, तत्कालिन पार्टी कमिटीमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी अनधिकृत अरोप पत्र पत्रपत्रिकामा वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो? भन्ने प्रश्न छ।’

त्यस्तै, पत्रमा एमाले पार्टी अध्यक्ष र महासचिवद्वारा २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी पटक पटक कथित पार्टी जिल्ला भेला गर्न अग्रसरता लिएको, जिल्ला पार्टी कमिटी तथा भातृ संगठनहरुको कथित विभिन्न भेलाहरु गरी समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाई किन गरेको भन्दै सिग्देललाई प्रश्न गरिएको छ।

‘साविक नेकपा एमाले पार्टीको नाममा कृषि विकास बैंक हेटौँडा शाखा मेनरोडमा रहेको खाता नम्बर ०५०८५००१२९६६५०१५ को कुल नौ लाख ३५ हजार रकम मिति २०७८ पुस ७ गते झिकी तपाई समेतले पार्टी कामबाहेक आफू खुसी खर्च गरी पार्टीको सम्पत्ति हिनामिना गरेकोमा सो कार्य उपर तपाईले पार्टीको सम्पत्ति अनधिकृत दुरुपयोग किन गर्नु भएको हो?’ पत्रमा भनिएको छ।

कुनै हालतमा छाड्नेवाला छैन : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशसभा सदस्य मुनु सिग्देलले आफूलाई एमाले भन्ने तर एमालेकै नाममा अर्कै कमिटी गठन गर्दै हिँडेको भन्दै कुनै पनि हालतमा नछाड्ने बताए। मुख्यमन्त्री पौडेलले जुन थालमा खायो त्यहि थालमा थुकेर हिड्नेलाई कुनै हालतमा नछाड्ने समेत बताए।

त्यस्तै, नेकपा एमाले मकवानपुरका केपी ओली पक्षका अध्यक्ष एकलाल श्रेष्ठले एकपटक सम्झाउने नमानेमा कारबाही गरिहाल्ने बताएका छन्। अब कुनै पनि मामलामा दया माया नहुने भन्दै श्रेष्ठले अबको समयमा पार्टी सुदृढीकरण मात्रै नभई शुद्धिकरण पनि हुने बताए।

आधिकारी अध्यक्ष म नै हुँ : सिग्देल

एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले आफू नै पार्टीको आधिकारिक अध्यक्ष भएको दावी गरेकी छिन्। पार्टीको हित विपरित काम गरेको भन्दै एमालेका ओली पक्षका अध्यक्ष एकलाल श्रेष्ठले पठाएको स्पष्टीकरण सोधिएको पत्र पनि हालसम्म सिग्देलले बुझेकी छैनन्।

श्रेष्ठको हस्ताक्षर सहितको पत्रमा सिग्देललाई स्पष्टीकरणको माग गरिएको छ। सो सम्बन्धमा सिग्देलले आफू नै आधिकारिक जिल्ला अध्यक्ष भएको कारणले कसैको पत्र नबुझ्ने प्रतिक्रिया दिइन्।

२०७२ सालमा नेकपा एमालेबाट उनी अध्यक्षमा निर्वाचित भएकी थिइन्। केही समयअघि तत्कालिन नेकपामा फाटो आएपछि विभिन्न नेताका गुट-गुट छुट्एिका थिए। नेकपामा सिग्देल अध्यक्ष थिइन् भने श्रेष्ठ सचिव थिए। जसमा सिग्देल नेपाल पक्षमा थिइन् भने एकलाल श्रेष्ठ ओली पक्षमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell