PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राजमार्गको छेउमै कोइला भण्डारण डिपो : वातावरण धुलाम्य हुँदा यात्रीलाई सास्ती



राधेश्याम पटेल

राजमार्गको छेउमै कोइला भण्डारण डिपो : वातावरण धुलाम्य हुँदा यात्रीलाई सास्ती

वीरगंज : वीरगंज-पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा राजमार्गसँग जोडिएको जग्गामा कोइला भण्डारण गर्दा सो क्षेत्रका बासिन्दा तथा यात्रीहरूले सास्ती खेप्नुपरेको छ। गर्मी मौसम शुरू भएको र हावाहुरी चल्दा राजमार्ग र सडक क्षेत्रका सम्पूर्ण वातावरण धुलाम्य र अँध्यारोजस्तै देखिने गरेको सर्वसाधारण बताउँछन्।

ड्राइपोर्ट-परवानीपुर सडकखण्ड, परवानीपुर-जीतपुर सडकखण्ड, गण्डक-परवानीपुर सडकखण्डमा करिब एक दर्जन कोइला भण्डारण गर्ने फर्म सञ्चालनमा छन्। भारत तथा विदेशबाट खरिद गरी यस क्षेत्रको कोइला डिपोमा भण्डारण गर्ने र वीरगंज कोरिडोर तथा देशका विभिन्न क्षेत्रमा रहेका सिमेन्ट उद्योगलाई उक्त कोइला बेच्ने गरिन्छ।

कोइलाको धुलोले आँखा तथा स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै श्वासप्रश्वास तथा क्यान्सर रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन्। परवानीपुरस्थित मुर्तामाई नजिकै अश्विनी गुप्ताले सञ्चालन गरेको मुर्तामाई कोइला डिपोले परवानीपुर प्रहरी चौकी आसपासका पसले तथा यात्रीहरूलाई ठूलो समस्या उत्पन्न गराएको यस भेगका स्थानीय बताउँछन्।

भाडामा डिपोको जग्गा लिएर शिवम्, अर्घाखाँची, होङ्सी, घोराही, अग्निलगायत सिमेन्ट उद्योगका लागि रक्सौलको मितेरी पुल नजिकै रहेको रेलवे यार्डबाट कोइला टिपरमा लोड गरी त्यहाँ पुर्‍याइन्छ।

कोइला डिपो सञ्चालकहरूले आवश्यक मापदण्ड पूरा नगरेको र फर्म सञ्चालन गर्न सम्बन्धित निकायबाट वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै कतिपय फर्म सञ्चालनमा रहेको बताइन्छ।

त्यसैगरी, परवानीपुर गाउँपालिका नजिकै सर्वोत्तम सिमेन्टको कोइला डिपोले पनि राजमार्गका यात्री तथा बासिन्दालाई दुःख दिएको गुनासो छ। अर्को चोर्नीस्थित मोहन राजपालको मोनालिसा डिपो, डाबर नेपाल नजिकै नेपाल कोल प्रालि, लालपर्सामा रहेको सबुरी कोइला डिपो, हरपतगंज नजिकै रहेको ऋद्धिसिद्धि कोइला डिपोले सो क्षेका वातावरणमा प्रदूषण फैलाएको र स्वास्थ्य जोखिम बढाएको स्थानीयको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell